ताप्लेजुङ — बिहीबार दिउँसो तमोर नदीमा बेपत्ता फुङलिङ नगरपालिका ३ टाँरबारी कि बालिकाको खोजीमा गएको प्रहरीसहितको टोलीले खोला किनारमा अर्को एउटा शव फेला पारेको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका–२ लिम्बूनी पुल छेउमा शव फेला परेको तर महिला पुरुष लगायतका विषयमा पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक प्रहरी प्रबक्ता विवेक बस्नेतले जानकारी दिए ।
ताप्लेजुङबाट गएको टोलीले शव भेटाएको हो । बिहीबार साङ्गे शेपाकी ११ वर्षीय छोरी गंगा शेर्पा फुङलिङ नगरपालिका–३ स्थित तमोर नदीमा बगेगी थिइन् । गंगा ४/५ जना साथीसँगै यहा नजिकै डम्पीङ साईटको फोहोरमा फालेको सामान खोज्न गएकी थिइन् ।
यही क्रममा तिर्खा लागेर नजिकै बग्ने तमोर खोलामा पानी पिउने क्रममा अचानक ढुङ्गाबाट खुट्टा चिप्लिएर खोलाले बगाएर बेपत्ता पारेको थियो । स्थानीयले अस्थायी प्रहरी चौकी सिम्लेमा जानकारी गराएपछि स्थानीय र प्रहरी खोजीमा जुटेको छ । बालिका भने अहिलेसम्म फेला परेकी छैनन् ।
