इलामबाट ताप्लेजुङ आएर सवारी साधन र सवारी मर्मत केन्द्रको निरीक्षण

जेष्ठ २४, २०८२

आनन्द गौतम

Inspection of vehicles and vehicle repair center from Ilam to Taplejung

ताप्लेजुङ — यातायात कार्यालय इलामबाट आएको टोलीले शुक्रबार र शनिबार ताप्लेजुङ सदरमुकाम फुङलिङ क्षेत्रका सवारी साधनको परीक्षण गरेको छ । ताप्लेजुङसम्मको सडकको क्षेत्राधिकार इलामकै भएकोले यातायात कार्यालयले प्रहरी र ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको सहयोगमा नियमन गरेको हो । 

अनुगमनको क्रममा तीन पाङग्रे सवारी टेम्पोको रुट पर्मिट नभएकाले फुङलिङ नगरपालिकालाई रुट पर्मिटका लागि प्रक्रिया बढाउन आग्रह गरेको यातायात कार्यालय इलामका प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए मैनालीले नगरपालिका प्रमुख अमिर मादेनलाई टेलिफोन गरेर रुट पर्मिटको प्रक्रिया बढाउन आग्रह गरेको बताए ।

रुट पर्मिटमा कुन क्षेत्रमा आफ्नो सवारी चलाउने उल्लेख हुन्छ । यसले नगरपालिकाको राजश्व बढाउने र रुटको विषय पनि निश्चित हुने मैनालीको दाबी छ ।

'टेम्पोबाट वर्षमा एक हजार मात्रै राजश्व लिएपनि नगरपालिकाको राम्रो आम्दानी हुन्छ,' इलामबाट आएका कार्यालय प्रमुखले भने, 'अरू जिल्लाका स्थानीय तहले यो अभ्यास गरेका छन् र नगरपालिकाको मापदण्डमा ल्याएका छन् ।' 

कार्यालयले मर्मत सेन्टरको पनि अनुगमन गरेको छ । यातायात सञ्चालक र ग्यारेज सञ्चालकलाई आवश्यक सुझाव दिएको कार्यालयले जनाएको छ । नियमनका लागि प्राविधिक इन्जिनियर लगायत आएका थिए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully