खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कफीको विरुवा उत्पादन गरेको छ । नगरका किसानको कफीबाट आयआर्जन गर्ने उद्देश्यले १७ लाख बढी कफीको विरुवा उत्पादन गरेको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीका अनुसार वडा नम्बर ६ नेर्पामा १२ लाख र वडा नम्बर १४ बुइपामा पाँच लाख कफीको विरुवा उत्पादन गरिएको छ ।
उक्त विरुवा यसैवर्ष किसानलाई वितरण गरिने जैसीले सुनाए । ‘कफीको विरुवा यो वर्ष नगरका १५ वटै वडाका किसानलाई वितरण गरिन्छ,’ जैसीले भने,‘गाउँ–गाउँमा कफी समूह बनाएर वितरण गरिनेछ ।’
माउण्ट एभरेष्ट फरेष्ट बोटानिकल सप्लायर्ससँगको सहकार्यमा कार्वन न्यूनीकरण गर्ने सम्झौता गरी कफी उत्पादन गर्ने योजना बनाइएको जैसीले बताए । उत्पादन भएको कफी नेपाल सरकारको न्यूनतम समर्थन मुल्यमा खरिद गर्ने सम्झौता पनि गरिएको जैसीको भनाइ छ ।
