कोशीमा अपांगता भएका प्रतिभाहरूको 'ट्यालेन्ट हन्ट' हुँदै

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

A 'talent hunt' for talent with disabilities is taking place in Koshi

विराटनगर — अपांगता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गर्दै आत्मनिर्भरता र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले  'ट्यालेन्ट हन्ट' हुने भएको छ ।

सामाजिक विकास मन्त्रालय, प्रदेशका स्थानीय तहहरू तथा करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपांग महासंघ नेपालको प्राविधिक सहयोगमा आगामी असार २० र २१ गते विराटनगरमा ट्यालेन्ट हन्ट आयोजना हुन लागेको बिहीबार पत्रकार सम्मेलनमा आयोजकले जनाए ।

गायन, साहित्य, चित्रकला, हस्तकला, नवप्रवर्द्धनजस्ता विविध विधामा अपांगता भएका व्यक्तिहरूको प्रतिभा उजागर गर्दै व्यवसायीकरण गर्न सक्ने वातावरण निर्माणका लागि कार्यक्रम आयोजना गर्न लागिएको अपांग महासंघ कोशीका अध्यक्ष नवीनचन्द्र ढुंगेलले जनाए । 'उनीहरूलाई आत्मनिर्भर तथा उत्पादक नागरिकका रूपमा स्थापित गर्न दीर्घकालीन रुपमा सहयोग पुर्‍याउने कार्यक्रमको उद्देश्य हो,' उनले भने ।

कार्यक्रममा सहभागी हुन कोशी प्रदेशका २ सय १४ जना अपांगता भएका व्यक्तिहरूले विभिन्न विधामा आवेदन दिएका थिए । प्राप्त आवेदन र उनीहरूले पठाएका भिडियो आधारमा छनौट समितिले गायनमा ३३ जना, नृत्यमा ११ जना, अभिनयमा ३ जना, साहित्यमा १६ जना, वक्तृत्वकलामा २ जना, चित्रकलामा ११ जना, हस्तकलामा १० जना, नवप्रवर्द्धनमा १ जना र कार्यक्रम सञ्चालनमा १ जना गरी कुल ८८ जनालाई दोस्रो चरणका लागि छनौट गरिएको करुणा फाउन्डेसनका मेनेजर सन्तोष घिमिरेले जनाए ।

छनौटमा परेकाहरूलाई असार १६ देखि १९ गतेसम्म विधा अनुसारका विज्ञ प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण र अभ्यास गराइनेछ । उत्कृष्ट प्रतिभा प्रदर्शन गर्ने सहभागीहरूलाई असार २० र २१ गते विराटनगरमा आयोजना हुने फाइनल प्रतियोगितामा सहभागी गराइनेछ ।

राष्ट्रिय कलाकारहरू निर्णायकको भूमिकामा रहने यस कार्यक्रमलाई करुणा फाउन्डेसन नेपाल, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, निक्षेप तथा कर्जा सुरक्षा कोष, उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल घरेलु तथा साना उद्योग महासंघलगायत संस्थाले सहयोग र सहकार्य गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully