ताप्लेजुङ — फुङलिङ नगरपालिका–६ उकालीपानी निवासी अर्जुन गुरुङ एक व्यक्तिको हत्या गरी फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार फक्ताङलुङ गाउँपालिका–३ लिङखिम सिस्नेमा २८ वर्षीय तेजेन्द्र लिम्बूको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार उनी आफ्नै श्रीमती सरिता लिम्बूसँग फक्क्तालुङ गाउँपालिका–३ तावा बस्ने फुपु योगमाया लिम्बुको घरमा पाहुना गएका थिए । त्यहाँ अर्जुन गुरुङ र उनकी श्रीमतीबीच विवाद भई झगडा भएको थियो ।
फूपु योगमायाले सम्झाइबुझाइ उनीहरुलाई आफ्नै घर जानु भनि श्रीमतिसहित स्थानीय तेजेन्द्र समेतलाई साथ लगाई फुङलिङ तर्फ पठाएकी थिइन् । त्यही क्रममा सिस्ने खोला नजिक बाटोमा आइपुग्दा अर्जुनले खुकुरी प्रहार गरी तेजेन्द्रको बायाँपट्टीको कोखमा हानेको र घटनास्थलमै मृत्यु भएको गौतमले जानकारी दिए ।
यहाँका वडाअध्यक्ष आइतराम लिम्बू, प्रहरी चौकी सिवाका प्रहरी सहायक निरीक्षक विमलकुमार श्रेष्ठसहितको टोली पुग्दा घाइतेको घटनास्थलै मृत्यु भइसकेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गुरुङ फरार रहेको र खोजी कार्य भइरहेको प्ररहरले जनाएको छ । प्रहरी निरीक्षक विवेक बस्नेतको टोली सदरमुकाम फुङलिङबाट घटनास्थलतर्फ पठाएको गौतमले बताए ।
