हत्या गरेर फरार गुरुङ १२ घण्टापछि पक्राउ

जेष्ठ २१, २०८२

आनन्द गौतम

Gurung, who absconded after killing, was arrested after 12 hours

ताप्लेजुङ — मध्यरातमा साथी हत्या गरी फरार फुङलिङ नगरपालिका-६ उकालीपानीका अर्जुन गुरुङ १२ घण्टापछि पक्राउ परेका छन् । व्यक्ति हत्या गरी फरार भएका उनलाई सदरमुकाम फुङलिङबाट गएको प्रहरी निरीक्षक विवेक बस्नेतको टोलीले पक्राउ गरेको हो । घटनास्थलबाट भागेर उकालो तर्फ गएका उनलाई फुङलिङ-१० भीर कुनाबाट पक्राउ गरिएको बस्नेतले बताए । 

आफन्त मारिएपछि हत्या गरिएका तेजेन्द्र लिम्बूका आफन्त दर्जनौंको संख्यामा जिल्ला प्रहरी कार्यालय आइपुगेका छन् । पक्राउ परेका व्यक्तिलाई पनि प्रहरी कार्यालय ल्याइपुऱ्याइएको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । गुरुङले फक्ताङलुङ गाउँपालिका-३ लिङखिम सिस्नेमा २८ वर्षीय तेजेन्द्र लिम्बुको हत्या गरेका हुन् । प्रहरीका अनुसार उनी श्रीमती सरिता लिम्बुसँग फक्तालुङ गाउँपालिका-३  तावा बस्ने फुपू योगमाया लिम्बुको घरमा पाहुना गएका थिए । त्यहाँ अर्जुनले श्रीमतीसँग झगडा गरेका थिए । 

फूपु योगमायाले सम्झाइबुझाई उनीहरुलाई आफ्नै घर जानु भनि तेजेन्द्र लिम्बुको समेत साथ लगाई फुङलिङतर्फ पठाएकी थिइन् । त्यही क्रममा सिस्ने खोला नजिक बाटोमा आइपुग्दा अर्जुनले खुकुरी प्रहार गरी तेजेन्द्रको बायाँपट्टीको कोखमा हानेको र घटनास्थलमै मृत्यु भएको गौतमले जानकारी दिए । यहाँका वडाध्यक्ष आइतराम लिम्बू, प्रहरी चौकी  सिवाका प्रहरी सहायक निरीक्षक विमलकुमार श्रेष्ठ सहितको टोली राति नै घटनास्थल पुगेका थिए । त्यहाँ पुग्दा घाइतेको मृत्यु भइ सकेको वडाध्यक्ष लिम्बुले बताए । 

श्रीमान्‌को आतंकपछि भागेकी उनकी श्रीमती पनि सम्पर्कमा आएको  प्रहरीले बतायो ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully