झापा — पूर्वी नेपालको दक्षिणी भेग झापा गाउँपालिका–२ मा पर्छ सुगाबथान गाउँ । जहाँ ५० बढी परिवारको बसोबास छ । हेमरम, टुडु र सन्थाल समुदायको बसोबास रहेको गाउँमा साना बाँसका घर मात्रै छन् । बस्तीको ५० मिटर मात्रै पश्चिमबाट बग्ने कनकाई नदीमा आउने बाढीले यो गाउँ सधैं त्रासमा बसेको छ । शनिबार बिहान पनि बाढीले यहाँका २२ परिवार डुबानमा परेका थिए ।
सुगाबथानका ४८ वर्षीय धरमलाल हेमरम घरको पश्चिमपट्टिबाट बग्ने कनकाई नदी हेरेर विगतका दिन सम्झन्छन् । यही नदी जसमा आएको बाढीले उनको परिवारलाई पटक–पटक विस्थापित बनाएको छ । बाढी गाउँ पस्दा उनी परिवारसहित नजिकको विद्यालयमा आश्रय लिन पुगेका छन्।
बाढीले उनको घर धेरै पटक डुबानमा पारेको छ । ‘बर्खामा ढुक्कले निदाउन सकिँदैन । कति बेला गाउँ डुबानमा पर्छ थाहै हुँदैन,’ हेमरम भन्छन्, ‘बाढी छेक्नका लागि न बलियो तटबन्ध बनाइएको छ, न अन्य कुनै उपाय नै । अब बर्खा सुरु हुन लाग्यो । यस वर्ष गाउँ नै विस्थापित बनाउँछ कि भन्ने त्रास छ ।’
सुगाबथान २०६६ र ६७ मा कनकाईमा आएको बाढीका कारण दुई पटक विस्थापित बनेको थियो । गाउँका स्थानीय नजिकैको कुवाडी देवी माविमा महिनौंसम्म आश्रय लिएर बसेका थिए । २०८१ असोजमा पनि बाढी गाउँ पस्यो । गत वर्ष विस्थापित हुनु नपरे पनि सारा गाउँ डुबानमा परेको थियो ।
हेमरमका अनुसार कनकाईको बाढीले पहिले सुगाबथान मात्रै नभएर खोला किनारका टप्पु, सिमलबाडीलगायतका बस्तीलाई क्षति पुर्याउँथ्यो । तर, २०६६/६७ मा जनताको तटबन्ध कार्यक्रम अन्तर्गत नदी नियन्त्रण कार्यक्रम सुरु भएपछि भने अहिले अधिकांश क्षेत्रमा तटबन्ध निर्माण भएको छ । सुगाबथान तर्फ बाढी पस्ने क्षेत्रमा भने तटबन्ध छैन ।
बल्ल निर्माण प्रक्रिया सुरु भएको छ । उनका अनुसार नदीको पूर्वतर्फ १८ सय मिटर क्षेत्रमा तटबन्ध निर्माण गर्न बाँकी छ । त्यसमध्ये भर्खरै ४ सय २० मिटर क्षेत्रमा तटबन्ध निर्माणको काम सुरु भएको छ । आउँदो बर्खा अघि नै सम्पन्न हुने निश्चित छैन । ‘बाँध बर्खाअघि नै बनिसके हामी सुरक्षित हुने थियौँ,’ हेमरम भन्छन् । उनका अनुसार २०६६/६७ मा सुगाबथान भन्दा उत्तर रहेको टप्पु गाउँबाट बाढी पसेको थियो । जति बेला टप्पु, सुगाबथान गाउँ विस्थापित बन्यो ।
त्यसपछि तटबन्ध निर्माण गर्ने काम अघि बढ्यो । तर, जग्गा विवादका कारण निरन्तरता पाउन सकेन । ‘खोला किनारका मान्छेले आफ्नो निजी जमिनमा बाँध बनाउन नदिने अड्डी कसे । जसका कारण निर्माण सुरु हुनै लागेको तटबन्धको काम रोकियो,’ उनले सुनाए, ‘विवाद बल्ल–बल्ल मिलेपछि भर्खर बाँकी क्षेत्रमा तटबन्धको काम सुरु भएको छ । तर, बर्खाअघि सकिएला कि नसकिएला ?’
२०८१ असोजमा बाढी आउँदा कनकाईले धार परिवर्तन गरेर सुगाबथान सोझियो । जुन स्थानबाट नदी गाउँ तर्फ सोझियो, त्यस स्थानमा तटबन्ध बनेको छैन । जहाँ तटबन्ध निर्माण नभए यसपालिको बाढीले पुनः गाउँ नै विस्थापित बनाउन सक्ने बताउँछन् अर्का स्थानीय रञ्जन टुडु । टुडुका अनुसार सुगाबथान गाउँ खोलाको सतह भन्दा मुनि पर्छ । जसका कारण बाढी आउँदा सहजै गाउँ पस्ने उनको भनाई छ ।
‘गाउँ खोला भन्दा गहिरो छ । अब तटबन्ध बन्ने क्रम त सुरु भएको छ । तर, काम तीव्र रूपमा भइरहेको छैन,’ टुडु भन्छन्, ‘जसले हामीमा त्रास बढाएको छ ।’ उनका अनुसार २०५२ सालमा खोला किनारमा बसेको सन्थाल समुदायको गाउँ त्यसयता मात्रै तीन स्थानमा सरिसक्यो । ‘५२ सालमा यहाँ बस्ती बस्यो । तर, खोलामा आएको बाढीले गाउँलाई विस्थापित बनाइरह्यो । तीन पटक त ठाउँ नै सर्यौं,’ उनी भन्छन्, ‘यसपालि पनि उस्तै पो हुने हो कि ?’
२०६६ मध्य असारको त्यो दिन । नजिकैको कनकाई बेतोडले कराउँदै बगिरहेको थियो । वारिबाट पारि जान त के देख्न पनि नसकिने अवस्था थियो । दिनभर बाढी गाउँ पस्ने हो कि भनेर खोलातिर हेरिरहन्थिन् सुगाबथानकै दुर्गा हेमरम । रातमा निदाउन सक्ने अवस्था थिएन । निरन्तर बढिरहेको झरी देखेर डराइरहन्थिन् । बाढी रोकिएन झन् बढ्यो । अन्ततः टप्पुबाट कनकाईको बाढी गाउँतर्फ सोझियो । सुगाबथान पनि अछुतो रहेन ।
‘अनि गाईबस्तु नै लिएर सबै जना स्कुलमा आश्रय लिन पुग्यौँ । गाउँमा बाढी कुदिरह्यो,’ दुर्गा विस्थापित हुँदाका दिन सम्झिन्छिन्, ‘हरेक वर्ष बर्खामा त्यसरी नै बाढीले बगाउला कि भन्ने त्रास हुन्छ । तर, हाम्रो कुरा कसले सुन्ने ?’ त्यसो त कनकाईमा बाढी आउँदा प्रभावित हुने गाउँ सुगाबथान मात्रै होइन । सुगाबथान भन्दा २ किलोमिटर उत्तर रहेको टप्पु झनै प्रभावित क्षेत्र हो । तर, यहाँ तटबन्ध बनेकाले अहिले खासै बाढीको त्रास छैन ।
४० को दशकमा पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट झापा झरेका दाताराम शिवाकोटी २०४७ मा झापा गाउँपालिका–६ टप्पु आइपुगे । तर, शिवाकोटीलाई कनकाईको बाढीले सताइरह्यो । उनी कहिले खोला वारि बसे त कहिले पारि नदीको भेलसँगै सरिरहे । अहिले भने उनलाई पहिले जस्तो त्रास छैन । ‘पहिले–पहिले बाढीले धुरुक्कै रुवायो । अहिले त्यस्तो छैन । बाँध बनेको छ । बाँध नै भत्किए त के लाग्ला र,’ ६९ वर्षीय शिवाकोटी सम्झन्छन् ।
झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया अनेक कसरतका बाबजुद बल्लतल्ल बजेट परेकाले ढिलो गरी तटबन्ध निर्माण कार्य सुरु भएको बताउँछिन् । ‘तटबन्धन बन्ने क्रममा छ । समयमा सकिन्छ/सकिँदैन भन्न सक्ने अवस्था छैन,’ उनी भन्छिन् ।
उनका अनुसार गाउँपालिकाको १, २, ५, ६ लगायतका वडा बाढीको उच्च जोखिममा छन् । भैपरी आउने विपद् लक्षित गरी पालिकाले आवश्यक तयारी गरिरहेको पनि उनी बताउँछिन् । ‘पालिकामा आपतकालीन समिति छ । जसमा आवश्यक छलफल गरी विपद्का बेला विस्थापित नागरिकलाई राख्ने स्थान, राहत लगायतबारे तयारी भइरहेको छ,’ उनी भन्छिन् ।
यता, जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख विजयकुमार रेग्मी नै तटबन्ध निर्माणको काम बर्खाअघि नै सकिनेमा आश्वस्त छैनन् । उनका अनुसार जिल्लाभर अहिले २२ वटा प्याकेजमा विपद् र नदी नियन्त्रणको कार्य भइरहेको छ । जसमा १४ वटा विपद् र ८ वटा नदी नियन्त्रण सम्बन्धी कार्य छ ।
जसका लागि ठेकेदारलाई पेस्की दिन कार्यालयसँग रकम छैन । उता ठेकेदारले भने काम गरेको पैसा मागिरहेको अवस्था छ । जसका कारण ठेकेदारले निर्माण कार्य नै रोकिदिने अवस्था रहेको उनको भनाई छ । ‘हामीले तपाईँहरूको पैसा हराउँदैन, काम गर्दै गर्नुहोस् भनिरहेका छौँ । उहाँहरूले काम पनि गर्दै हुनुहुन्छ । तर, ठेकेदारले काम रोकिदिएको अवस्थामा भने बर्खाअघि तटबन्ध निर्माण सकिँदैन,’ उनी भन्छन् ।
प्रमुख रेग्मीका अनुसार २०८१ माघ ११ मा टेन्डर आह्वान भएर आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी गत वैशाख ७ गते मात्रै तटबन्ध कार्यालय र निर्माण व्यवसायी बिच काम अघि बढाउने विषयमा दुई पक्षीय सम्झौता भएको थियो । कार्यक्रम प्रमुख रेग्मीका अनुसार बिरिङ, मेची र कमल खोलाको दुई/दुई स्थानमा नदी नियन्त्रणको काम भइरहेको छ । कनकाइ १ र रतुवामाइ १ मा तटबन्ध निर्माण भइरहेको छ ।
यी सबै स्थानमा तटबन्धका लागि २६ करोड लागत अनुमान गरिएकोमा १८ करोड १२ लाखमा ठेक्का लागेर काम भइरहेको छ । यता विपद् सम्बन्धी कार्य भने अझै ठेक्का लागिसकेको छैन । झापा र शिवसताक्षी नगरपालिकाको काम ठेक्का लागेर जारी रहे पनि अन्य थानमा भने ठेक्का लागिसकेको छैन । १४ प्याकेजमा विपद् सम्बन्धी काम गर्ने योजना भए पनि दुई स्थानको मात्रै ठेक्का लागेको छ ।
