पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका-५ वडा कार्यालयले २०८१ सालको एसइई परीक्षामा वडा भित्रका विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याएकी छात्रालाई पुरस्कार स्वरूप ल्यापटप वितरण गरेको छ ।
निलगिरी माध्यमिक विद्यालयबाट एसइईमा ३.७५ जीपीए ल्याएर उत्तीर्ण भएकी वर्षा थुङ्गिम लिम्बूलाई एक थान ल्यापटप सहित पुरस्कृत गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिए । उनलाई गणतन्त्र दिवसको सन्दर्भमा वडा कार्यालयस्थित देवी योङहाङ स्मृति भवनमा आयोजना आयोजित कार्यक्रममा ल्यापटप वितरण गरिएको थियो ।
लिम्बूलाई गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा उप्रेती सेढाई, वडाध्यक्ष बिर्खबहादुर सुहाङ लगायतका जनप्रतिनिधिले ल्यापटप हस्तान्तरण गरेका थिए । हिलिहाङको ५ नम्बर वडाले यसै वर्षदेखि वडा भित्र सञ्चालित सामुदायिक विद्यालयबाट एसइई मा सहभागी भई सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने नीति ल्याएको हो ।
सो कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको वडाध्यक्ष सुहाङले बताए । लिम्बूलाई ८० हजार रुपैयाँ मूल्य बराबरको ‘कोर आई फाइभ’ ल्यापटप प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
