सुनसरी — मोरङ औद्योगिक कोरिडोर अन्तर्गत इटहरी–१२ मा रहेको तिरुपति प्लाइउड उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
राति साढे २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
आगो नियन्त्रणका लागि सुनसरी र मोरङका विभिन्न स्थानीय तहका एक दर्जन दमकल बिहानैदेखि परिचालन गरिएको छ । दमकल टोली र सुरक्षा निकायको टोलीले आगो नियन्त्रणको प्रयास गरे पनि उद्योगभित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, केमिकललगायतका सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको भण्डारीले जानकारी दिएका छन् ।
झन्डै ३ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा यसअघि २०७७ चैत २३ गते पनि आगलागी भएको थियो । उक्त आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन दुई दिन लागेको थियो ।
