विराटनगर — राष्ट्रिय सभाका सांसद गोपी अछामीले गणतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
प्रेस सेन्टर कोशी प्रदेश कमिटीले २३ औं कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा मंगलबार विराटनगरमा आयोजना गरेको ‘कृष्ण सेन इच्छुक र गणतन्त्र’ विषयक अन्तरसंवादमा बोल्दै अछामीले दलहरूमा आपसी अविश्वास बढ्दै गएकाले परिवर्तनविरोधी शक्तिहरू पुनः संगठित हुन थालेको बताए ।
'देश दुर्घटनातिर लम्किरहेको छ, यो सामान्य कुरा होइन,' अछामीले भने, 'जनताका अपेक्षा धेरै छन्, जनगुनासो उस्तै छन् । यस्तो अवस्थामा सामूहिक प्रयासबाटै समस्याको समाधान सम्भव छ ।' उनले सत्ताधारी दलहरूको क्रियाकलापप्रति आलोचना गर्दै ती कारण नै जनस्तरमा निराशा थपिएको बताए । 'प्रतिगामी शक्तिहरू धमिलो पानीमा माछा मार्न खोजिरहेका छन्,' उनले भने, 'त्यसैले परिवर्तनकारी शक्तिहरू एकताबद्ध भएर देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन आवश्यक छ ।'
सांसद अछामीले संविधानले जनतालाई राज्यसम्म पहुँच र अधिकार सुनिश्चित गर्ने परिकल्पना गरेको भन्दै नेताहरूले जनअपेक्षाअनुसार भूमिका निर्वाह गर्नुपर्ने बताए ।
