हिलिहाङमा डेंगु नियन्त्रण गर्न अभियान

जेष्ठ १३, २०८२

लक्ष्मी गौतम

Campaign to control Dengue in Hillihang

पाँचथर — हिलिहाङ गाउँपालिकाले विद्यालय केन्द्रित डेंगु नियन्त्रण अभियान सुरु गरेको छ । स्वास्थ्य शाखाको अगुवाइमा विद्यार्थी र अभिभावक केन्द्रित डेंगु नियन्त्रण अभियान सुरु भएको हो ।

अभियानमा शिक्षक विद्यार्थी र अभिभावकलाई डेंगु संक्रमण फैलने लामखुट्टेको बासस्थान, फूल पार्न सक्ने सम्भावित स्थान र नियन्त्रणका लागि अपनाउनु पर्ने सावधानी लगायत विषयमा अभिमुखीकरणसँगै लामखुट्टेका फूल र लार्भा नष्ट गर्न प्रक्रियाका विषयमा प्रयोगात्मक अभ्यास गराइँदै आएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेका अनुसार यो गाउँपालिकामा गत वर्ष १८ जनामा डेंगु संक्रमण भएको थियो । यो महिनामा हिलिहाङ–२ की एक महिलामा संक्रमण पुष्टि भएर उपचाररत छिन् ।

विद्यालयस्तरमा गरिएका सचेतना कार्यक्रमले समुदायसम्म प्रभाव पर्ने भएकाले यस्तो कार्यक्रम सुरु गरिएको घिमिरेले बताए । उनका अनुसार हालसम्म १२ वटा विद्यालयमा अभियान सञ्चालन भइसकेको छ ।

प्रत्येक १५–१५ दिनमा यस्तो अभियान सञ्चालन गर्ने तालिका बनाइएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले जानकारी दिए ।

खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे बढी फैलन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ ।

डेंगु एडिज जातको लामखुट्टेले पारेका फूलबाट लार्भा हुँदै विकसित भएका लामखुट्टेले मान्छेलाई टोक्दा सर्ने गर्छ । त्यसैले घर आसपासमा पानी जम्न दिनु नहुने चिकित्सकहरू सुझाव दिन्छन् ।

डेंगुको लक्षण तुरुन्तै देखिँदैन, तीनदेखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तीव्र हुन्छ ।

डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुने, चक्कर लागेर बेहोससमेत हुने खानामा जिब्रोको स्वाद बदलिने, भोक कम लाग्ने, पखाला लाग्ने, टाउको तथा कम्मर दुख्ने र, गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्ने जस्ता लक्षण देखिन्छ ।

नीमको पात बालेर त्यसको धुवाँ घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् । यस्ता लामखुट्टे फैलिन नदिन पानी राखिएको भाँडा बर्तन खुला छाड्न नहुने, भान्सा र बाथरुमलाई सुख्खा राख्नुपर्ने, झ्याल ढोकामा जाली लगाउनुपर्ने, शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्ने, सुतेको समयमा झुल प्रयोग गर्नुपर्ने र घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्ने जस्ता उपाय सचेतना अभियान मार्फत जानकारी दिइँदै आएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully