विराटनगर — कोशी प्रदेशका प्रहरी प्रमुख डिआईजी ईश्वर कार्की कार्यभार सम्हाल्न प्रादेशिक राजधानी विराटनगर ओर्लिएको दुई साता पनि भएको छैन । डिआईजी कार्की यतिबेला उद्योगी व्यवसायीको स्वागत सम्मान ग्रहणमै व्यस्त देखिएका छन् । खासमा विराटनगरका उद्योगी व्यवसायीहरूको एउटा परम्परा छ– नयाँ प्रहरी प्रमुखहरूलाई स्वागत सम्मान गर्ने । त्यही परम्परालाई पालना गर्न कार्कीलाई भ्याइनभ्याइ छ ।
विराटनगरका उद्योगी–व्यवसायीका संगठनहरूले एकपछि अर्को गर्दै उनलाई स्वागत तथा सम्मानित गरिरहेका छन् । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग व्यापार संघजस्ता संस्थाहरुले गरेको ‘स्वागत तथा सम्मान’को कार्यक्रमहरूमा उनी सहभागी भइसकेका छन् । अन्य केही उद्योगी संगठनहरुले उनलाई सम्मान गर्न पालो पर्खिरहेका छन् ।
प्रहरी प्रमुखको कुर्सी सम्हाल्ने बित्तिकै सम्मान थाप्दै हिँड्न थालेका कार्कीको व्यवहारप्रति सर्वसाधारणले सामाजिक सञ्जालमार्फत प्रश्न उठाउन थालेका छन् । ‘प्रहरी प्रमुखको पहिलो प्राथमिकता के हो ? शान्ति सुरक्षा कि अबिर माला ?’, विराटनगरका एक सर्वसाधारणले भने ।
सार्वजनिक चासोको विषय बनेको तस्करी, आपराधिक गतिविधि, सीमा क्षेत्रको सुरक्षाजस्ता विषयहरूमा चासो दिनुको साटो खादा, माला र अबिरमा उनी रमाउँदै हिँडेको आरोप सर्वसाधारणको छ ।
गृहमन्त्री रमेश लेखकले गत वैशाख ३० मा कोशी प्रदेशमा भइरहेको तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका थिए । तर, कोशी प्रदेशमा भने प्रहरी प्रमुखको प्राथमिकता त्यसको ठिक विपरीत देखिएको छ ।
‘हामी सुरक्षा सुधारको अपेक्षा गर्दै थियौँ, तर प्रहरी प्रमुख सम्मानमा व्यस्त हुनु भयो’, एक सर्वसाधारणले भने, ‘यो दुःखद पक्ष हो ।’
सुरक्षा निकायप्रति जनताको विश्वास तब बलियो हुन्छ जब उनीहरू सतर्क, निष्पक्ष र जनमुखी देखिन्छन् । तर हाल देखिएको प्रहरी नेतृत्वको ‘सम्मान केन्द्रित व्यस्तता’ ले सो विश्वासमा शंका पैदा गरेको छ ।
अब प्रश्न उठ्छ, के प्रहरी प्रमुख सम्मान ग्रहण गर्दै हिँड्ने व्यक्ति हुन् कि प्रदेशको कानुन–व्यवस्था र सार्वजनिक सुरक्षामा केन्द्रित भएर काम गर्ने जिम्मेवार अधिकारी ?
