संखुवासभा — नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आरोपबाट बच्न कर्मचारीले गृहमन्त्री रमेश लेखक माथि दोष थुपारेको बताएका छन् ।
उनले कांग्रेसका नेताहरु बद्नियत राखेर काम नगर्ने दाबीसमेत गरे । खाँदबारीमा आइतबार आयोजित छलफल कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई जोडेर कांग्रेसको बदनाम गर्न खोजिएको बताएका छन् ।
पछिल्लो समय सरकारमा गएका कांग्रेसका मन्त्रीहरु अनावश्यक विवादमा मुछिएको बताए । कम्युनिष्ट पार्टीको अधिनमा देशको ठूलो पाटी काङ्ग्रेस बसेको उनको भनाइ थियो ।
उनले सुशासन, संविधान संसोधन लगायतका विषयलाई अघि बढाउन कांग्रेसले यो बाटो रोजेको बताए । अहिलेको कुनैपनि मन्त्रीले जनताले देख्ने गरी काम गर्न नसकेको उनको भनाइ छ । कोशी प्रदेशका विभिन्न जिल्ला दौडाहमा निस्केका घिमिरेले कांग्रेस परम्परागत तरिकाले चलेको उल्लेख गरे ।
