विद्यालयका संस्थापक र जग्गादातालाई सम्मान

जेष्ठ १०, २०८२

लक्ष्मी गौतम

Respect to the school's founder and landlord

पाँचथर — पाँचथरको फिदिम नगरपालिका-४ मा सञ्चालित गढी माध्यामिक विद्यालयले विद्यालयका संस्थापक, जग्गादाता र व्यवस्थापन समितिका पूर्वपदाधिकारीलाई सामूहिक सम्मान गरेको छ ।

२ जना जग्गादाता, ५ जना संस्थापक, ५ जना व्यवस्थापन समितिका पूर्वअध्यक्षलाई विद्यालयले शुक्रबार सम्मान गरेको हो । सम्मान हुनेमा जग्गादाताद्वय छत्रमाया तुम्बापो र गाउँमाया तुम्बापो, पूर्वउपरथि होमकुमार लावती, संस्थापकहरु नरबहादुर लावती र राम चेम्जोङ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु प्रेमसागर तुम्बापो, टीएन लावती, पृथ्वी लावती, सीता खबास (तुम्बापो) र उपेन्द्र लावती छन् ।

संस्थापकमध्येका तुलसीराम तुम्बापो, हर्कप्रसाद लावती र डिकप्रसाद देवानलाई मरणोपरान्त सम्मान गरिएको प्रधानाध्यापक मानध्वोज थाम्सुहाङले जानकारी दिए ।

संस्थापक, जग्गादाता र तिनका आफन्तलाई प्रमुख अतिथि र विशेष अतिथिको आसनबाट फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपानले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

विद्यालयले पहिलोपटक संस्थापक र दाताहरुको अभिलेखीकरण गरी सम्मान गरेका व्यवस्थापन समिति अध्यक्ष विजयवोध लावतीले बताए । विद्यालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवासीय कक्षासमेत सञ्चालन हुँदै आएको छ । यो विद्यालय २०४५ जेठ २१ गते स्थापना भएको हो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully