धनकुटाबाट केराबारी लैजाँदै गरेको आठ सय ९० किलो गाँजा बरामद 

जेष्ठ १०, २०८२

रमेशचन्द्र अधिकारी

Eight hundred and ninety kilos of ganja were seized from Dhankuta while being transported to Kerabari

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका प्रहरी चौकी ओख्रेले बोलेरो पिकअपमा लोड गरिएको ८ सय ९० किलो गाँजा बरामद गरेको छ । 

पिकअप गाडीमा २९ वटा बोरामा रहेको गाँजा शनिबार बिहान बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । साथै साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङका १९ वर्षीय उल्लास लिम्बूलाई नियन्त्रणमा पनि लिइएको छ ।

धनकुटाको बुढीमोरङबाट मोरङको केराबारीतर्फ गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक विनोदकुमार राजवंशीको कमाण्डमा ३ जनाको एम्बुस टोली परिचालन गरिएको प्रवक्ता खनालले बताए ।

नजिकका प्रहरी युनिट लगायत इप्रका राजारानीबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा २० जनाको जनशक्ति परिचालन भएको थियो । 

उक्त सपोर्ट टोली नपुग्दै प्र १-०२-००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालकले भने ड्युटीमा रहेका प्रहरी जवान सञ्जय कुमार थारूलाई धकेलेर जंगलतर्फ फरार भएको बताइएको छ । 

Eight hundred and ninety kilos of ganja were seized from Dhankuta while being transported to Kerabari

थारुको अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रहरी जवान सामान्य घाइते भएका छन् । घाइतेको डाँडाबजारस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । 

प्रहरीले घटनास्थलबाट को २९ प ९६३५ नम्बरको पल्सर मोटरसाइकल  र ४ थान मोबाइल फोनसमेत बरामद गरेको छ । फरार चालकको पहिचान खुलिसकेको हुँदा जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मोरङको संयुक्त टोलीबाट खोजतलास भइरहेको जनाइएको छ । 

नियन्त्रणमा लिइएका व्यक्ति र बरामद सामानलाई जिप्रकामा ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully