उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिकाले २०७९ सालमा निर्वाचित जनप्रतिनिधिहरूको मध्यावधि प्रगति विवरण सार्वजनिक गरेको छ। शुक्रबार नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै मेयर कालुमान लामाले ३ वर्षको प्रगति प्रतिवेदन विवरण सार्वजनिक गरेका हुन्।
जिल्लाको आठ वटा स्थानीय तहमध्ये मध्यावधि प्रगति विवरण सार्वजनिक गर्नेमा चौदण्डीगढी नगरपालिका पहिलो बनेको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै मेयर लामाले आफ्नो कार्यकालको ३ वर्षमा शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा महत्त्वपूर्ण काम गरेको बताए । दरबन्दी मिलान गरेर नगरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारको प्रयास गरिएको उनले बताए।
विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको तह घटुवा र मर्ज गरेर शिक्षालाई गुणस्तरीय बनाउने प्रयास गरिएको उनको भनाइ छ । दरबन्दी मिलानका कारण यसबर्षको कक्षा ८ को नतिजामा सुधार आएको मेयर लामाले दाबी गरे ।
यद्यपि शिक्षकहरू भने राजनैतिक प्रतिशोधका आधारमा दरबन्दी मिलान गरेर नगरले शिक्षकहरूलाई दुःख दिने काम गरेको भन्दै मेयर लामासँग रुष्ट छन्। उनीहरूले भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थी र शिक्षकलाई दरबन्दी मिलानका नाममा दुःख दिने काम नगर्न आग्रह गर्दै पटक पटक नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै आएका छन् ।
प्रगति विवरण सार्वजनिक गर्दै मेयर लामाले चौदण्डीगढी आधारभूत नगर अस्पतालमा तीन जना एमबीबीएस डाक्टर राखेर उपचार सुरु गरिएको, फिजियोथेरापी, दंतरोग सेवा, लगायतका सेवा थप गरिएको, सर्प दंश उपचारको अनुमति प्राप्त गरेको जानकारी दिए।
यो अवधिमा १५ किमि सडक कालोपत्र गरेको, थप ३ किलोमिटर निर्माणाधीन अवस्थामा रहेको, २५ किलोमिटर नयाँ सडकको ट्र्याक ओपन गरिएको र ८० किलोमिटर सडक ग्राभेल सम्पन्न गरेको तथा नगरपालिकाका विभिन्न स्थानमा ३२ वटा ट्रस्ट तथा कल्भर्ट निर्माण गरिएको मेयर लामाले जानकारी दिए।
