दाहसंस्कार गर्नै लाग्दा संखुवासभामा बालिकाको शव प्रहरीले लियो नियन्त्रणमा

जेष्ठ ९, २०८२

संखुवासभा

When the cremation was about to take place, the police seized the body of the girl in Sankhuwasabha

संखुवासभा — दाहसंस्कार गर्न लागेका बेला भोटखोला गाउँपालिका-४ सिप्प्रङकी ६ वर्षिया बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार खाँदबारी नगरपालिका–३ गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो ।

वैशाख ३० गते घरासयी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाइबुहारी कल्पना (गुरुङ) तामाङबीच झैझगडा भएको थियो । झैझगडाका क्रममा भाइबुहारी कल्पनाले भतिजी युनिकालाई धकेल्दा डिलबाट लडेर सख्त घाइते भएकी थिइन् ।

सख्त घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो ।

नियन्त्रणमा लिइएको शव जिल्ला अस्पताल संखुवासभाको शव गृहमा राखिएको प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले बताए । प्रहरीले गोपालकी भाइबुहारी कल्पनालाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरी सदरमुकाम खाँदबारी ल्याउँदै गरेको जनाएको छ ।

घटनाको बारेमा मृतकका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभा

Link copied successfully