फोहोर व्यवस्थापनका लागि नगरपालिकाले उचित ठाउँमा डम्पिङ साइट निर्माण गर्न नसक्दा समस्या भोग्दै गाईघाटवासी
उदयपुर — त्रियुगा नगरपालिका–१२ बिसनपुर आसपासका स्थानीयले डम्पिङ साइटमा फोहोर फल्न नदिएपछि गाईघाट बजारबाट फोहोर उठ्न छाडेको छ । नगरपालिकाले वैशाखसम्म मात्रै बिसनपुरमा फोहोर डम्प गर्ने र जेठबाट अन्यत्र व्यवस्थापन गर्ने गरी सहमति गरेको भन्दै उनीहरुले जेठको पहिलो दिनबाटै बिसनपुरस्थित डम्पिङ साइटमा फोहोर फाल्न नदिएपछि गाईघाट बजार दुर्गन्धित बनेको छ ।
बिसनपुरमा फोहोर फाल्न जाने नगरपालिकाका सवारीसाधनलाई स्थानीयले पटकपटक अवरोध गरेपछि नगरपालिकाले केही दिन त्रियुगा नगरपालिका–१४ स्थित चप्पन जंगलमा फोहोर फालेको थियो । त्यहाँका स्थानीय र सामुदायिक वनले जंगल क्षेत्रमा फोहोर फाल्न नदिने निर्णय गरेपछि ४ दिनदेखि गाईघाट बजारबाट फोहोर उठ्न सकेको छैन ।
फोहोर व्यवस्थापनका लागि नगरपालिकाले उचित ठाउँमा डम्पिङ साइट निर्माण गर्न नसक्दा गाईघाटवासीले समस्या भोग्नुपरेको त्रियुगा नगरपालिका–११ गाईघाटका किसन राईले बताए । ‘बजारका सडक छेउमा यत्रतत्र फोहोरका थुप्रो छन्, दुर्गन्धले बजारमा हिँडिनसक्नु छैन, बिहान मर्निङ वाकमा निस्किन सकिँदैन,’ उनले भने ।
त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले भने त्रियुगा–१३ फुलझोर र वडा नं. ६ को लालपत्ता जंगलमा नयाँ डम्पिङ साइट बनाउनका लागि अनुसन्धान भइरहेकाले फोहोरको समस्या छिट्टै समाधान हुने बताए । डम्पिङ साइटका लागि मानवबस्तीभन्दा टाढाको स्थान आवश्यक पर्ने भएकाले उपयुक्त स्थानमा जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ ।
‘फोहोरको गन्धले नाक थुनेर खाना खानुपर्छ, राति सुत्न सकिँदैन, दिउँसो खेतबारीमा काम गर्न पनि असहज छ,' खैजनपुरका प्रथमलाल चौधरीले भने, 'धेरैचोटि मेयरसाबलाई डम्पिङ साइट व्यवस्थापनका लागि भन्यौं तर समस्याको समाधान भएन ।’
फोहोरले गर्दा झाडापखाला, ज्वरो, घाउ खटिराका बिरामी देखिन थालेका त्रिवेणी टोल विकास संस्थाकी अध्यक्ष मञ्जु राईले बताइन् । डम्पिङ साइटमा फालिएको फोहोरलाई काग तथा अन्य चराले बोकेर ल्याउने गरेकाले रोग सर्ने जोखिम धेरै रहेको स्थानीयहरुको भनाइ छ ।
यस्तै गाईघाट बजारबाट निस्किने ढल त्रियुगा नदीमा मिसाउने गरिएकाले प्रदूषण बढेको बरुवा क्याम्पसका विद्यार्थीले बताए । ‘ढलको नाली क्याम्पसकै अगाडिबाट त्रियुगा नदीमा पुर्याइएको छ, ढलको दुर्गन्धले कक्षाकोठामा बसिनसक्नु हुन्छ,' अनेरास्ववियू बरुवा क्याम्पस कमिटी सचिव अभिषेक थापामगरले भने, 'मेयरलाई पुस महिनामै ज्ञापनपत्र बुझायौं तर समस्या उस्तै छ ।'
