संखुवासभा — संखुवासभाका जनप्रतिनिधिहरुले पत्रकारिता क्षेत्रको विकास र सवलीकरणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। १० वटै स्थानीय तह संचार नीति ल्याउन तयार रहेको उनीहरुको भनाइ छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशले बुधवार आयोजना गरेको अन्तरसंबाद कार्यक्रममा जनप्रतिनिधिहरुले लोकतन्त्र स्थापनाका लागि पत्रकारले खेलेको भुमिका प्रभावकारी भएको बताए।
उनीहरुले पत्रकारिता क्षेत्रको विकास र सवलीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले संचार नीति ड्राफ्ट गरेर सबै स्थानीय तहमा पेश गर्न आग्रह गरे । पत्रकारलाई स्थानीय स्तरमा नै रोजगारीको अवस्था सिर्जना गर्न सकिने उनले बताए ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकार र स्थानीय सरकारबीचको सहकार्यले मिडिया क्षेत्रलाई बलियो बनाउने बताए। उनले व्यवसायिक पत्रकारिताको विकासमा पनि टेवा पुर्याउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा मादी र धर्मदेबी नगरपालिका बाहेक आठ स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी थिए।
