मदन–आश्रितको शालिक बनाउन उदयपुरबाट ल्याएको ढुंगा हस्तान्तरण

जेष्ठ ५, २०८२

राकेश नेपाली

Handing over the stone brought from Udaipur to make the statue of Madan-Ashrit

उदयपुर — जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिक बनाउन नेकपा एमाले उदयपुरले कालिगढ विक्रम श्रीलाई ढुंगा हस्तान्तरण गरेको छ ।

स्वर्गीय नेताद्वय मदन–आश्रितको शालिक बनाउन १० फिट लम्बाई ५ फिट चौडाईको १२ टनको एउटा र ८ फिट लम्बाई ४ फिट उचाईको १० टनको अर्को गरी दुईवटा ढुंगा हस्तान्तरण गरिएको हो । 

मदन–आश्रितको ३२औं स्मृति दिवसको अवसरमा इटहरी मेट्रिक्स (कला संस्कृतिक केन्द्र) लाई ढुंगा हस्तान्तरण गरिएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताए ।

‘त्रियुगा नगरपालिका–१० बाबरीबाट शालिक बनाउनका लागि उपयुक्त ठहरिएका दुईवटा ढुंगा संकलन गरी सुनसरी पठाएका छौं, ५ लाख लागत लाग्ने शालिक कलाकार श्रीले निःशुल्क रुपमा बनाइदिनु हुनेछ,’ अध्यक्ष राउतले भने, ‘शालिक तयार भएपछि एउटा ईटहरीको मदन पार्कमा राखिनेछ भने अर्को मदन भण्डारी राजमार्गस्थित उपयुक्त स्थानमा पार्क बनाएर राखिनेछ ।’

नेपाली राजनीतिमा मदन भण्डारीको योगदान, समाज परिवर्तनका लागि उनले गरेका संर्घष र उनको विचारलाई सम्मान गर्दै शालिक निर्माण गर्न लागिएको राउतले बताए ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully