संखुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच किमाथांकामा भेटवार्ता

नेपाल र चीन जोड्ने मितेरी पुल र सडक निर्माण गर्न चीन सरकार सकारात्मक : प्रजिअ पोखरेल

जेष्ठ ४, २०८२

दीपेन्द्र शाक्य

A meeting between the security chief of Sankhuwasabha and the Chinese representative at Kimathanka

संखुवासभा — सीमा सुरक्षा, नाका नियमित बनाउने, सीमा क्षेत्रका संरचना निर्माणलगायत विषयमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी र चीन सरकारका स्थानीय प्रतिनिधिबीच शनिबार किमाथांकामा भेटवार्ता भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल र चीन सरकारका प्रतिनिधिहरूबीच शनिबार भेटवार्ता भएको हो । 

भेटवार्ताका क्रममा प्रजिअ पोखरेलले नेपाल र चीन जोड्ने मितेरी पुल र सडक निर्माण गर्न चीन सरकार सकारात्मक रहेको र लगानीको वातावरण बनाइदिन आग्रह गरेको बताए । चीन सरकार नेपालको सीमा नाका, पुल, सडकजस्ता पूर्वाधारका विषयमा लगानी गर्न सकारात्मक रहेको उनले बताए ।

प्रजिअ पोखरेल र प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको टोली शनिबार हेलिकोप्टरमार्फत किमाथांका पुगेका हुन् । ‘मैले सीमा नाका, पुलका साथै भन्सारको विषयमा पनि कुरा उठाएँ, उहाँहरू त्यसमा पनि भौतिक पूर्वाधारको क्षेत्रमा सहयोग गर्न तत्पर रहेका छन् उनले भने हामीले किमाथांकास्थित भन्सारपरिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सीमा पोस्ट, सिमाना राखिएका विभिन्न सीमा स्तम्भहरूको समेत निरीक्षण गरेका छौँ । चीनका स्थानीय अधिकारीहरूसँग संक्षिप्त कुराकानी गरी अन्य द्विपक्षीय विषयमासमेत छलफल भएको छ,' उनले भने, 'उत्तर–दक्षिण कोशी राजमार्गलाई महत्त्वका साथ स्तरोन्नति गरिरहेको हुँदा अबको केही वर्षमा यो नाकाबाट आयात निर्यात हुने नेपालको तर्फबाट जानकारी गराइएको छ ।'

बीआरआई अन्तर्गत सडक, पुलजस्ता भौतिक पूर्वाधारमा लगानी गर्न चीन सरकार सकारात्मक रहेको उनको भनाइ छ । चीन सरकारले बीआरआईअन्तर्गत सिमाना किमाथांकादेखि नुमसम्म सडक स्तरोन्नति र मितेरी पुल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

'पछिल्लो समय किमाथांका नाका नियमित गर्ने विषयमा कुराकानी अघि बढेको छ,' उनले कान्तिपुरसँग भने, 'गत १४ माघमा किमाथांका नाकासम्म उत्तर-दक्षिण कोशी सडकको ट्र्याक छिचोलिएपछि किमाथांका नाका व्यवस्थित गर्ने विषयले प्राथमिकता पाएको छ ।'

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा व्यापारिक काउन्सिलर सियू र चिनियाँ दूतावासका सेक्रेटरी चेन योङको उपस्थिति थियो । सियूले नेपालको पूर्वाधारलगायतको क्षेत्रमा चीन सरकार लगानी गर्न सकारात्मक रहेको तर नेपाल सरकारले औपचारिक रूपमा पत्र नलेख्ने गरेको बताएका थिए ।

नेपालका व्यापारीहरू किमाथांका नाका जतिसक्दो चाँडो व्यवस्थित रूपमा खोलिनुपर्ने र खुला रूपमा आयात-निर्यात हुन पाउनुपर्ने माग गर्दै आएका छन् ।

किमाथांका पुगेको टोली शनिबार साँझ खाँदबारी फर्किसकेको छ ।

दीपेन्द्र

Link copied successfully