सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका बेरुजु कम हुनेमा कोशी प्रदेशकै पहिलो र नेपालको दोस्रो स्थानीय तह बनेको छ । जिल्लाकै एकमात्र नगरपालिका आर्थिक वर्ष २०८०/८१ मा देशभरमै कम बेरुजु आउने पालिकाको सूचीको दोस्रो स्थानमा र कोशी प्रदेशको पहिलो नम्बरमा परेको हो ।
महालेखा परीक्षकको कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशमा पहिलो बन्यो भने दशेभरमै दोस्रो बन्न सफल भएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ५८ करोड २२ लाख ४५ हजार रुपैयाँ बराबरको बजेटको लेखा परीक्षण गराएकोमा जम्मा १ लाख २१ हजार ८ सय रुपैयाँ बेरुजु आएको हो जुन कुल बजेटको ० दशमलव ०१ हुन आउँछ ।
कम बेरुजु पुर्याउने पालिकामा नगरपालिका परेपछि प्रतिक्रिया दिँदै नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले नगरपालिका निरन्तर जनमुखी, उत्तरदायी र पारदर्शिताको अभ्यास गर्दै आइरहेको बताए । उनले सक्षम जिम्मेवार जनप्रतिनिधि भएको उपजको रूपमा यो उपलब्धिलाई लिनु पर्ने बताए । कोशी प्रदेशमा सोलुदुधकुण्ड नगरपालिका पछि भोजपुरको रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका देशको आठौँ र प्रदेशको दोस्रो बनेका छन् भने खोटाङको हलेसी तुवाचुङ नगरपालिका देशकै १० औँ र कोशी प्रदेशकै तेस्रो बनेको छ ।
बजेट र योजना कार्यान्वयन, राजस्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, संस्थान सञ्चालन तथा व्यवस्थापन, लेखांकन प्रतिवेदन तथा आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा नियमन, वित्तीय संघीयता कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार व्यक्ति तथा संस्थाले जवाफदेहिता बोध नगर्ने र उक्त अनुशासनमा नरही लापरबाही तरिकाले कार्य सम्पादन तथा रकम परिचालन गर्दा बेरुजु बढ्ने गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
