उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित आधारभूत विद्यालय बेल्हाका दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ब्रेल लिपिका शैक्षिक समग्री वितरण गरिएको छ । मंगलबार नेपाल नेत्रज्योति संघ, उदयपुरले कक्षा १ देखि ९ सम्मका १० विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
दृष्टिविहीन तथा अपांगता भएका विद्यार्थीलाई शैक्षिक सामग्रीको अभावले पठनपाठनमा समस्या आएको जानकारी पाएपछि उनीहरुको सहजताका लागि ब्रेल पेपर र अन्य शैक्षिक सामग्री वितरण गरिएको मदन भण्डारी आँखा अस्पताल उदयपुरका अध्यक्ष भागवत राउतले बताए ।
२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकाको मेयर पदका प्रत्यासी रहेका राउतले वैशाख ३० लाई स्मरण गर्दै बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको बताए ।
मदन भण्डारी आँखा अस्पताल गाईघाटले विभिन्न समयमा जिल्ला भित्रका ९३२ जना मोतियाविन्दु भएकाहरुको आँखा निःशुल्क शल्यक्रिया, दृष्टिविहीनलाई ३० थान सेतो छडी, उदयपुर जिल्लाभरका ४२ जना शारीरिक अपाङ्गता भएकालाई हिृवल चेयर, त्रियुगा नगरपालिका–७ स्थित जनज्योति मावि चुहाडेमा अध्ययनरत २० दृष्टिविहीन बालबालिकालाई सेतो छडी, कपी लगायत सामग्री वितरण गरेको छ ।
