गहना र नगदसहित भेडेटारबाट दुई जना पक्राउ

वैशाख २९, २०८२

रमेशचन्द्र अधिकारी

Two persons arrested from Bhedetar with jewelery and cash

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकबाट प्रहरीले सुन र चाँदीको गहना तथा नगदसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२–०५४ प २१६५ नम्बरको एफजेट मोटरसाइकलमा सवार दुईजना व्यक्तिहरुलाई शंका लागेर जाँच गर्दा चालक धिरज विश्वकर्माले बोकेको कालो रंगको झोलाभित्र चाँदीजस्तो देखिने धातुका विभिन्न गरगहनाहरू, सुन जस्तो देखिने धातुका स-साना ५ थान टुक्राहरू र नगद रुपैयाँसमेत फेला परेको छ । 

ती सामग्रीको बिलबिजक नभएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । उनीहरुको साथबाट फेला परेको गहनाबारे सुनचाँदी व्यवसायी संघसँग समन्वय गरी तौल गर्दा चाँदी जस्तो देखिने ३ हजार १ सय ४९ ग्राम फेला परेको हो । जसको बजार मूल्य ५ लाख ४१ बढी  रहेको बताइएको छ ।

यसैगरी, पोतेमा भएको सुन जस्तो देखिने पेन्डेन्ट ५ थान र सुन जस्तो देखिने स–सानो टुक्रा ५ थानको जम्मा १२ दशमलव ७१ ग्रामको गहनासमेत रहेको छ । जसको मूल्य २ लाख ८६ हजार बढी रहेको बताइएको छ । 

यस्तै उनीहरुको साथबाट ५ सय र १ हजार गरी ८५ हजार ५ सय नगद पनि प्रहरीले बरामद गरेको छ । 

पक्राउ परेका मोरङको, लेटाङ–८, जाँते बस्ने ३० वर्षीय मनोज विश्वकर्मा र १९ वर्षीय धिरज विश्वकर्मालाई आवश्यक कारबाहीका लागि प्रहरीले मंगलबार राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाउने भएको छ ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully