संखुवासभा — नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले नयाँ सत्ता समीकरण अहिले नहुने दाबी गरेका छन्। प्रेस चौतारी संखुवासभाले खाँदबारीमा शनिबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अहिलेको सरकार २०८४ सम्म कुनै हलचल नहुने बताएका छन्।
सहमति अनुसार सरकार अघि बढ्ने बताउँदै उनले यो सरकारको विकल्प नभएको दाबी गरे। सरकारले ल्याएको नीति तथा कार्यक्रममा सबै क्षेत्र समेटिएको बताए। 'नीति तथा कार्यक्रम जनमैत्री र विकासमैत्री छ,' उनले भने, 'बजेटपछि सरकारको गतिविधि झनै बढ्दै जानेछ।'
उनले सभाखोला–खाँदबारी सडक लागतकट्टा टुंग्याउनुपर्नेमा जोड दिए। लागतकट्टाको अन्तिम किनारा नलाग्दा सदरमुकाम आउने सडकको अवस्था दयनीय भएको बताए। उनले उत्तर–दक्षिण कोशी सडकको एकीकृत जाँच चौकी निर्माणको काम अघि बढाउन पनि आग्रह गरे।
