बलात्कार आरोपित पूर्वमेयर अस्पतालबाटै धरौटीमा रिहा 

गत मंसिर २४ गते पक्राउ परेका आराेपित पूर्वमेयरले ६ महिना नै अस्पतालमा बिताए ।

वैशाख २५, २०८२

पर्वत पोर्तेल

Rape-accused ex-mayor released on bail from hospital

विराटनगर — बलात्कार आरोपित झापाको विर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश गरेको छ । गत मंसिर २४ गते पक्राउ परेलगत्तै उनी स्वास्थ्यकाे कारण देखाउँदै अस्पतालमा भर्ना भएका थिए ।

इलाम इजलासमा न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले बिहीबार २० लाख धरौटीमा शिवाकोटीलाई रिहा गर्ने आदेश दिएको हो । यो आदेशसँगै उनी आइतबार थुनामुक्त हुँदैछन् । यो आदेशपछि न्याय पाउने आशामा बसेका पीडित पक्ष निरास बनेका छन् । 

उनको रिहाइको खबरले खासगरी पीडित किशोरी र उनको परिवार असन्तुष्ट बनेका छन् । सामाजिक सञ्जालदेखि कानुनी वृत्तसम्ममा एउटा साझा प्रश्न उठेको छ, बलात्कारजस्तो गम्भीर मुद्दामा अभियुक्तलाई अस्पतालमै बस्न दिनु र अन्ततः धरौटीमा छाड्नुले कस्तो सन्देश दिन्छ ?

अस्पताल बसेरै हिरासत, अस्पताल बसेरै जेल, र अब मुक्त

२०७४ सालमा एमालेबाट विर्तामोड नगर प्रमुखमा निर्वाचित भएका शिवाकोटीलाई प्रहरीले गत मंसिर २४ गते पक्राउ गरेको थियो । आरोप थियो, उनले घरेलु कामका लागि राखेकी १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको । ती बालिकालाई काँकडभिट्टाबाट उद्धार भएपछि आफन्त नेपालजस्ता चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने संस्थाहरूको पहलमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । 

तर, उनी पक्राउ परेका दिनदेखि नै अस्पताल भर्ना भइहाले । प्रहरीले करिब महिना दिन लगाएर अनुसन्धान गर्दा उनले एक दिन पनि प्रहरी कार्यालय टेक्नु परेन । प्रहरी अस्पताल नै पुग्यो । त्यही बयान लियो । 

गत पुस २२ मा जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो । तर, उनी जेल पनि जानु परेन । शिवाकोटीले पक्राउ परेको दिनदेखि हालसम्म करिब पाँच महिना बीएण्डसी अस्पतालमै भीआईपी क्याविनमा बिताए । अदालतको ‘स्वास्थ्य अवस्था ख्याल गर्नुपर्ने’ भन्ने आदेशको आधारमा उनी कारागार छिर्नै परेन । 

‘हाम्रो कानुन सबैका लागि समान हो भने, समान व्यवहार कहाँ यो’, पीडितका एक आफन्तले असन्तुष्टि व्यक्त गर्दै भने, ‘यस्तो गम्भीर अपराधमा अस्पतालमै रहन पाउनु र अहिले धरौटीमा छोडिनु हाम्रो न्याय प्रणालीकै मजाक भयो ।’

पीडित किशोरी एकदमै संवेदनशील अवस्थाबाट गुज्रिएकी छन् । बुबाआमा नभएका कारण उनलाई शिवाकोटीले घरमा राखेर पढाइदिने आश्वासन दिइएका थिए ।  तर, त्यो विश्वास नै उनको जीवनको सबैभन्दा ठूलो धोका बन्यो ।

पटक–पटकको बलात्कार सहन नसकेपछि उनी घर छोडेर भारत हिँडेकी थिइन् । भारतको असममा उनकी आमा छिन् । आमा भेट्न भनी क्याम्पसको पोसाकमै सीमा तर्न लाग्दा आफन्त नेपालका कार्यकर्ताहरुले उनलाई सोधपुछ गरेका थिए । सोधपुछमा उनले दिएको बयानका आधारमा पूर्वमेयर शिवाकोटी पक्राउ परेका थिए । 

झापाको वीएण्डसी अस्पतालको क्याबिनमा उपचाररत पूर्वमेयर शिवाकोटी । तस्विरः सामाजिक सन्जाल

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully