मन्त्री राईको कार्यक्रमका स्थानीयको अवरोध, सुरक्षाकर्मी तैनाथ

वैशाख २५, २०८२

डम्बरसिं राई

Locals obstruct Minister Rai's program, security personnel deployed

खोटाङ — कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईको कार्यक्रम बिथोलिएको छ ।साकेला गाउँपालिका–३ खिदिमामा बिहीबार आयोजित सर्वदलीय, सर्वपक्षीय नागरिक भेटघाट कार्यक्रममा अवरोध भएको हो ।

गाउँपालिकाको विकासे योजना कटौती गरेको भन्दै गाउँपालिका अध्यक्ष लगायत स्थानीयले केहीबेर कार्यक्रम बिथोलेका थिए ।गाउँपालिकामा राजनीतिक पूर्वाग्राहले विभिन्न योजना कटौती गरेको भन्दै अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा करिब तीन घण्टा कार्यक्रम बिथोलिएको हो । मन्त्री राई र अध्यक्ष राईबीच वार्तापछि कार्यक्रम सुरु भएको खोटाङका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । 

मन्त्री राईका सचिवालयका बाजिन्द्र विष्टले सुरुमा कार्यक्रम बिथोलिए पनि पछि एउटै मञ्चमा बसेर कार्यक्रम भइरहेको बताए । ‘गाउँपालिका अध्यक्षज्यूको भनाइ चाहिँ पहिले साकेला गाउँपालिकामा योजना राख्नुहोस् अनि आउनुहोस् भन्ने रहेछ,’ विष्टले भने, ‘सुरुमा केहीबेर कार्यक्रम अवरुद्ध भए पनि अहिले कार्यक्रम भइरहेको छ ।’ 

स्थानीयले कार्यक्रमस्थल प्रवेशमा मन्त्री राईलाई रोक अवरोध गरेका थिए । तर सुरक्षाकर्मीले पन्छाएर उनलाई कार्यक्रमस्थल प्रवेश गराएको थियो । कार्यक्रमस्थलमा सशस्त्र प्रहरी नायव उपरीक्षक दीपेन्द्र थापासहित सशस्त्र तथा जनपथ प्रहरी तैनाथ छन् ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully