विराटनगर — कोशी प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौं (वर्खे) अधिवेशन आउँदो जेठ ४ गते दिउँसो २ बजेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकपछि आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष अधिवेशन आह्वानका लागि सिफारिस गरिने जानकारी दिए ।
बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीमाथि प्रदेश लोकसेवा आयोगसँग परामर्श माग गर्ने निर्णय पनि गरेको छ । साथै सुनसरीको कोशी गाउँपालिकाको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय लिइएको छ ।
यस्तै, ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका, २०८२’ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले वैशाख १८ र १९ गते विराटनगरमा सम्पन्न प्रदेश लगानी सम्मेलनलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्णलाई धन्यवाद दिने प्रस्तावसमेत पारित गरेको छ ।
