उदयपुर — जिल्ला अस्पताल उदयपुरमा कार्यरत चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा. दिपेश यादवलाई सोमबार दिउँसो उनकै कार्यकक्षमा गालीगलौज गर्दै दुर्व्यवहार गरेको भन्दै प्रहरीले चौदण्डीगढी नगरपालिका–९ का ३३ वर्षीय देवराज विष्टलाई पक्राउ गरेको हो ।
‘खाजा खाएर कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै म माथि तथानाम गाली गालीगलौज गर्दै दुर्व्यवहार गरियो,’ चिकित्सक यादवले भने । कार्यकक्षमा लात्ती हान्दै पसेका विष्टले किन ढिलो गरिस् भन्दै अपशब्द बोलेर दुर्व्यबहार गरेको उनले बताए ।
‘मेरो चेम्बर बाहिर २० जना जति बिरामी रहेछन्, म निर्धारित समयमा नै पुगेको थिएँ,’ उनले भने, ‘बिरामी हेर्न कोठाभित्र पसेर नाम बोलाउने वित्तिकै एक्कासी दुर्व्यवहार भयो ।’
डा. यादवमाथि दुर्व्यवहार भएलगत्तै अस्पताल प्रशासनले प्रहरीमा जानकारी गराएपछि विष्टलाई अस्पताल परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङले बताए ।
घटनालगत्तै जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र मण्डलले लिखित रुपमा जिल्ला प्रहरी कार्यालयमा डा. यादवलाई दुर्व्यवहार गर्ने विष्टलाई कारबाहीको माग गर्दै उजुरी दिएका थिए ।
