उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–२ र ४ अन्तर्गत पर्ने माडिबास र लामा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी उत्खनन् गरिएको छ । नगरपालिका र राजनीतिक दलहरूकै संरक्षणमा अवैध रूपमा ढुङ्गा गिट्टी उत्खनन् भइरहेको हो ।
वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी चौदण्डीगढी नगर कार्यपालिकाको बैठकले साङ्गे छोयलिङ कन्स्ट्रक्सन प्रालिलाई उत्खनन् गर्न दिएको हो । माडी बास, लामा खोला र करमजे खोलालगायत वन क्षेत्रबाट ठुलो परिणाममा गिट्टी, बालुवा उत्खनन् गर्दा आसपासका ७० भन्दा बढी घरपरिवार बाढीको जोखिममा परेका छन् ।
चालु आर्थिक वर्षको असोजमा ढुङ्गा, गिट्टी, बालुवा उत्खननका लागि बन्दोबस्ती गरिएको ठेक्का भन्दा बाहिर गएर पूर्वपश्चिम राजमार्ग निर्माण गरिरहेको चाइनिज कम्पनीलाई एक लाख घन मिटर गिट्टी उपलब्ध गराउन अहिले सो ठाउँबाट उत्खनन् भइरहेको छ । वैशाख ७ गतेको चौदण्डीगढी नगर कार्यपालिकाको बैठकले उत्खनन् गर्ने निर्णय गरेकोमा सोही दिनबाट साङ्गे छोयलिङ कन्स्ट्रक्सन प्रालिले ढुङ्गा, गिट्टी निकाल्न सुरु गरेको थियो ।
निजी नम्बरी आबादीको राजश्व लिएर गिट्टीको निकाल्न नगरपालिकाले अनुमति दिएकै दिन चौदण्डीगढी नगरपालिका–४ बर पानीमा २ वटा एक्स्काभेटर प्रयोग गरेर उत्खनन् सुरु गरेको स्थानीय पुष्पराज सुवेदीले बताए । नगरपालिकाले तयार गरेको ढुंगा, गिटी र बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७८) र दोस्रो संशोधन २०७९, चुरे संरक्षण कार्यविधिलगायत विभिन्न ऐन विपरीत रहेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।
९० सेन्टिमिटर खन्नुपर्नेमा मापदण्डको ख्यालै नगरी एक्स्काभेटर प्रयोग गरेर ५ फिटसम्म खनिएको सुवेदीले बताए । ऐलानी, वन क्षेत्रको जग्गामा मापदण्ड विपरीत उत्खनन् गर्न नगर प्रहरी नै तैनाथ गरिएको स्थानीयको गुनासो छ । आन्तरिक राजश्वको लोभमा मापदण्ड विपरीत उत्खनन् गर्न दिइएका कारण वर्षाका समयमा बाढीको जोखिम भएकाले विरोध गरिएको स्थानीयले बताएका छन् ।
जथाभाबी नदीजन्य पदार्थ उत्खनन् हुँदा वर्षाको समयमा चौदण्डीगढी नगरपालिकाका २ र ४ का गरी ७० भन्दा बढी परिवार बाढीको प्रत्यक्ष जोखिममा रहेको स्थानीयको भनाई छ ।
शुक्रवार ढुङ्गा, गिट्टी उत्खननका विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई ठेकेदार पक्षले नगरपालिकाले अनुमति दिएकाले फोटो, भिडियो नखिच्न भन्दै धम्क्याएका थिए । २ वटा एक्स्काभेटर प्रयोग गरेर १० चक्के टिपरमा १२ घन मिटरका दरले १४ हजार ४ सय घन मिटर बढी गिट्टी सिराहा पुर्याइएको स्थानीयको भनाई छ ।
मापदण्ड विपरीत भइरहेको अवैध उत्खननले खानेपानी मुहान सुक्ने, कुलोमा पानी नआउने, बर्खामा गाउँमै बाढी पस्ने जोखिम रहेको भन्दै स्थानीयले वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासनमा ज्ञापन बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले तत्कालका लागि सो क्षेत्रबाट ढुङ्गा, गिट्टी उत्खनन् नगर्न निर्देशन दिए पनि लुकीछिपी रातको समयमा उत्खनन् गरिरहको स्थानीयले गुनासो गरेका छन् ।
प्रजिअ लुइँटेलले नदीजन्य पदार्थ उत्खनन गर्ने कानुनी प्रक्रियाको कागजात नगरपालिकाको राजस्व शाखा प्रमुख प्रकाश वनसँग मागेका थिए । वनले कागजात देखाउन नसकेपछि प्रजिअ लुइँटेलले उत्खनन् तत्काल रोकी कानुनी प्रक्रिया अध्ययन गर्ने निर्णय गरेको थियो ।
स्थानीयले नम्बरी जग्गामा आईई गरेको भनेर सार्वजनिक जग्गामा उत्खनन् गरेको रोकिनुपर्ने, उत्खननमा संलग्न व्यक्तिमाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने, नागरिकको स्वतन्त्र पूर्वक आफ्ना विचार राख्ने अधिकारको रक्षा गर्दै ठेकदार कम्पनीका व्यक्तिबाट स्थानीयलाई धम्की दिने काम बन्द गरिनुपर्नेलगायत माग राखेका छन् ।
उत्खननको विषयमा जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर विश्वकर्माको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको प्रजिअ लुइँटेलले बताए । यस विषयमा चौदण्डीगढी नगर प्रमुख कालुमान लामाले कुनै प्रतिक्रिया दिन मानेनन् ।
