ताप्लेजुङ — हलमा घोषणा गरिएकोमा फेरबदल गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ ताप्लेजुङको पदाधिकारीसहित ४१ सदस्यको नाम सार्वजनिक गरिएको छ ।
अध्यक्ष मण्डलका एक सदस्य हेमराज निरौलाले आइतबार पार्टी पदाधिकारी लगायतलाई ट्याग गरेर सामाजिक सञ्जालबाट नाम सार्वजनिक गरेका हुन् ।
बैशाख १८ गते बेलुका सुरु भएको बन्दसत्रमा विवाद भएपछि १९ गते मध्यान्हदेखि गर्नेगरी स्थगितको सूचना टाँस गरिएको थियो । तर, अध्यक्ष मण्डलका अध्यक्ष एवं कोशी प्रदेश कमिटी इन्चार्ज निरोज पौडेल, सह–इन्चार्ज ज्ञानेन्द्र राई अधिवेशन सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै राजधानी फर्किएपछि अन्योल भएको थियो ।
अध्यक्ष मण्डलका एक सदस्य निरौलाले चार दिनपछि २१ गते बेलुका ‘अध्यक्ष मण्डलले ४१ सदस्य रहनेगरी नयाँ कमिटी’सर्वसम्मत चयन गरेको उल्लेख गरेका छन् । यसअघि अनेरास्ववियुको अधिवेशनमा पनि विवाद भएपछि यसरी नै सामाजिक सञ्जालबाट नाम सार्वजनिक गरिएको थियो ।
एमाले प्रदेश कमिटी सदस्य मात्रिकाप्रसाद भट्टराई यो गलत संस्कार भएको बताउँछन् । ‘पार्टीमा विवाद हुन्छ, लफडा हुन्छ, हानाहान हुन्छ तर त्यसलाई सामना गरेर त्यही बसेर मिलाएर त्यही घोषणा गरेर सौहार्द्रपूर्ण वातावरण बनाउनुपर्छ त्यो देखिएन,’ उनले भने ।
सोमबार सार्वजनिक गरिएको नामावली अनुसार उपाध्यक्ष फेरिएको छ । अध्यक्षमा मानिक तुम्बाहाम्फे, उपाध्यक्ष दिलकुमार सुनुवार सचिव डेभिड लिम्बू, उपसचिवमा प्रकाश एभेङ र बरुण लिम्बू तथा कोषाध्यक्षमा सुनिता याक्सो लिम्बू रहेका छन् ।
१८ गते बेलुका हलमा अध्यक्ष मण्डलले अध्यक्षमा मानिक तुम्बाहाम्फे उपाध्यक्ष प्रकाश एभेङ सचिव डेभिड लिम्बू सहसचिव सुनिता याक्सो र बरुण साँवा रहेको पदाधिकारीको नाम घोषणा गरेर हललाई ताली पिट्न लगाएका थिए । अध्यक्ष मण्डलका सदस्य राईले ताली मज्जाले पड्काउन अपिल गरेपछि विवाद र कुर्सी हानाहान सम्म भएको थियो ।
अध्यक्ष मण्डलले चार दिनपछि सार्वजनिक गरेको नाममा यसअघि युथफोर्स संयोजक राखिएका दिलकुमारलाई उपाध्यक्ष राखिएको हो । विज्ञ युवा परिषद् केशव पौडेल, साइबर सर्कल प्रमुख श्रीहाङ लिम्बू र युथफोर्स प्रमुखमा पारुहाङ लिम्बू रहेको उल्लेख छ ।
को हुन् अध्यक्ष मानिक ?
मेरिङदेन गाउँपालिका–६ नाल्बु निवासी मानिक तुम्बाहाम्फे राजनीतिक परिवारका व्यक्ति हुन् । उनी संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फेका भतिज हुन् । दशौं जिल्ला अधिवेशनको संयोजन उनैले गरेका थिए । उनलाई असन्तुष्ट समूहले पनि अध्यक्षमा सहमति जनाएको थियो ।
