पाँचथर — प्रश्नपत्र प्रिन्ट नहुँदा पाँचथरको फिदिमस्थित गडी माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा २५ मिनेट ढिलागरी सुरु भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयबाट इमेलमा आएको प्रश्नपत्र प्रिन्ट गर्न खोज्दा प्रिन्टरले काम नगरेपछि यहाँ परीक्षा सुरु गर्न ढिलाई भएको केन्द्राध्यक्ष मानधोज थाम्सुहाङले जानकारी दिए ।
कार्टेजको मसी सकिएका कारण प्रश्नपत्र समयमै प्रिन्ट हुन नसक्दा निर्धारित समयमा परीक्षा सुरु गर्न नसकिएको उनको भनाइ छ ।
आइतबारदेखि सुरु भएको कक्षा १२ को परीक्षाका लागि जिल्लामा १० वटा परीक्षा केन्द्र तोकिएका छन् । बाँकी ९ वटामा बिहान ८ बजे निर्धारित समयमै परीक्षा सुरु भएको र शान्तिपुर्ण ढंगले सञ्चालन भइरहेको बताइएको छ ।
यसवर्ष जिल्लाबाट परीक्षामा २ हजार ४ सय विद्यार्थी सहभागी हुँदैछन् ।
