पाँचथर — परीक्षाको गोपनियता भंग गरेको आरोपमा पाँचथरको याङवरक गाउँपालिका–४ स्थित थर्पु मावि परीक्षा केन्द्रबाट एकजना परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही केन्द्रमा परीक्षा दिइरहेका सिरिजङ्ग मावि, गोपेटारका छात्र निशेक काम्बाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिए । उनका अनुसार काम्बाङले आइतबार कक्षा १२ को अंग्रेजी विषयको परीक्षा सुरु भएलगत्तै मोबाइलमार्फत प्रश्नपत्र बाहिर पठाएको आरोप छ ।
परीक्षा गराउन खटिएका केन्द्राध्यक्ष सहितका शिक्षक कर्मचारीले काम्बाङद्वारा प्रश्नपत्र आउट भएकाले कारबाही गरी पाउ भनी प्रहरीमा जाहेरी दिएका थिए । लगत्तै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रश्नपत्र फोटो खिचेर बाहिर पठाउन प्रयोग भएको मोबाइल फोनसमेत बरामद गरिएको छ ।
