विराटनगर — कोशी लगानी सम्मेलनको दोस्रो दिनको 'भविष्य निर्माण: पूर्वाधार विकास र उर्जा क्षेत्र' विषयक छलफलमा पूर्वसचिव, उर्जाविज्ञ, व्यवसायी र शिक्षाविद्हरूले कोशी प्रदेशको समृद्धिको मूल आधार पूर्वाधार र उर्जालाई बनाउँदै जानुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा पूर्व सहरी विकास सचिव मनिराम गेलालले योजना, स्रोतसाधन र सुशासनमा देखिएको कमजोरीले पूर्वाधार विकास अवरुद्ध भएको बताए । 'सहरी क्षेत्रमा लगानी भयो, तर त्यसले सहरलाई व्यवस्थित बनाउन सकेन,' उनले भने, 'गाउँको सुविधा सहरमा, सहरको प्रविधि गाउँमा लैजानुपर्छ ।' उनले सहर विस्तार मात्र होइन, स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
पूर्वसचिव किशोर थापाले लगानीको क्षेत्र स्थानान्तरण हुनु, पर्याप्त स्रोत हुँदाहुँदै पनि लगानी रोक्न नसक्नु दुःखद भएको बताए । 'डिजिटल प्रविधिमार्फत चौथो औद्योगिक क्रान्तिमा लाखौं रोजगारी सिर्जना गर्न सकिन्छ,' उनले भने, 'राजनीतिक संवाद र उद्यमशीलता प्रोत्साहन अबको प्राथमिकता हुनुपर्छ ।'
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष गणेश कार्कीले नेपालको विद्युत् उत्पादन क्षमता ३४ हजार मेगावाट भएपनि प्रयोगमा नआएकोमा चिन्ता व्यक्त गरे । '२८०० मेगावाट निजी क्षेत्रले उत्पादन गरिसकेको छ, तर अझै १४ खर्बको लगानी जरुरी छ,'उनले बताए, 'नीति निरन्तरतामा सरकारले राजनीतिक प्रतिबद्धता देखाउनुपर्छ ।'
काठमाडौं विश्वविद्यालयका एसोसिएट प्राध्यापक डा. विराजसिंह थापाले हरित उर्जा र ग्रिन हाइड्रोजनको सम्भावनाबारे प्रकाश पार्दै भने, '४ सय अर्ब बराबरको इन्धन आयात भइरहँदा हामीसँग कोइला र जल उर्जाको व्यापक स्रोत छ, तर प्रयोग गर्न सकेका छैनौं ।' उनले कोशीमा ग्रिन इनर्जीमार्फत नयाँ उद्योग विकासको सम्भावना रहेको बताए ।
कार्यक्रममा सहभागी विज्ञहरूले पूर्वाधार र उर्जालाई नवीकरणीय र वातावरणमैत्री बनाउँदै लैजान सकिए मात्र प्रदेशको दिगो विकास सम्भव हुने निष्कर्ष निकाले । छलफलको सहजीकरण पत्रकार यज्ञ बञ्जाडेले गरेका थिए । कार्यक्रममा पूर्वसचिव महेन्द्र गुरुङले कोशीमा पूर्वाधारको विकासबारे किनोट स्पिच दिएका थिए ।
