ताप्लेजुङ — मुन्धुमी स्थलको विषयलाई लिएर पाथीभरा मुक्कुमलुङ केबलकार निर्माण प्रक्रियामा अवरोध भइरहेका बेला अपर तमोर जलविद्युत् आयोजनामा पनि पहिचान र मुन्धुमीस्थलको विषय उठेको छ । जसका कारण गत बैशाख ३ गतेयता सुरुङमार्ग निर्माण लगायतको काम अवरुद्ध छ ।
निजी कम्पनीको लगानीमा उत्पादन गर्न लागिएको यो देसकै ठूलो २ सय ८५ मेगावाटको जल विद्युत् आयोजना हो । सर्वोच्च अदालतले निर्माण कार्य रोक्ने नरोक्ने विषयमा छलफल गर्नुपर्ने भएको भन्दै दुवै पक्षलाई बोलाएपछि केबलकार निर्माणस्थल यतिबेला शान्त छ । तर निर्माण कार्य अगाडि बढाए जस्तोसुकै परिस्थितिको सामना गर्नुपर्ने चेतावनीसहित स्थानीय पहिचानवादीले कालोझण्डा गाडेपछि जिल्लामा निर्माण सुरु भएको ठूलो परियोजनामा अवरोध पुगेको हो ।
बिरबल लिङ्खिमलाई संयोजक बनाएर स्थानीय ‘अपर तमोर संघर्ष समिति’ को नाममा आन्दोलित भएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत गत चैत ३१ गते प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएका थिए । त्यसपछि निर्माणस्थलमा पुगेर नारा जुलुस गर्नुका साथै कालो झण्डा गाढेका छन् ।
अध्यक्ष लिङ्खिम जबरजस्ती गर्न खोजे प्रतिकारमा उत्रने दाबी गर्छन् । ‘हामीले स्थानीय सरकारलाई पनि भनेका छौं, सिडियो सावलाई पनि भनेका छौं । उहाँहरुमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छौं,’ बिरबलले भने,‘आयोजना प्रमुखलाई त पटक/पटक आग्रह गरेका छौं, जबरजस्ती गर्यो भने त हुँदैन । हामी ज्यान छोड्छौं ।’ सार्वजनिक सुनुवाइ नगरिएको, स्थानीय जनतालाई जानकारी नगराइएको, स्थानीयसँग परामर्स नगरी जबरजस्ती काम अगाडि बढाइएको जस्ता आरोप उनीहरुले लगाएका छन् ।
गाउँ समुदायमा कुनै जानकारीसहित स्वतन्त्र मन्जुरी नभई परियोजनाको ईआइए, डिपिआर सार्वजनिक नगरी बलमिच्याई गरेर कम्पनीले काम अगाडि बढाएको उनिहरुको आरोप छ । आफूहरुले कम्पनीलाई वर्षौंदेखि मुन्धुमीस्थलमा काम अगाडि नबढाउन मौखिक अनुरोध गरेको बिरबलले दाबी गरे ।
मौखिक आग्रह बेवास्ता गरेपछि संगठनात्मक रुपले आन्दोलित हुनु परेको उनले बताए । राजनीतिक बलमिच्याई, कमिसनको धाकमा काम बढाए राम्रो नहुने चेतावनी उनीहरुको छ । यस क्षेत्रमा बसोबास गर्ने प्रमुख समुदाय लिम्बू, गैर लिम्बू समुदायको सांस्कृतिक तथा ऐतिहासिक सम्पदा मासेर आयोजना निर्माण गर्न लागिएको आरोप लगाएका छन् ।
‘कुनैपनि समुदायको सम्पदाहरु कुनै पनि बहानाम नष्ट गर्न नमिल्ने कुरा विश्वव्यापी हो, विशेष गरेर लिम्बू याक्थुङहरुको धेरै थरीमध्ये केही एकल र केही थरीको संयुक्त रुपमा सधाधिस्थल चिहानहरु रहेका छन्,’ समितिका सचिव किशोर आङबोहाङले भने, ‘सयौं वर्ष पुराना पुरातात्विक महत्त्वका चौताराहरु छन्, यसमा समुदायको इतिहास, सभ्यता र अस्तित्व जोडिएको हुनाले यीनलाई भत्काउन नष्ट गर्न र हाम्रो सभ्यता मास्न हामी कुनै हालतले दिँदैनौं ।’
हाइड्रोको संरचना निर्माण हुने क्षेत्र तापेथोक बगरमा ताप्मादेन र सङ्गम्बोको तथा लिङखिम र तबेबुङहरुको साम्सिङगो खेबेङ, गुरुङको कारोकी डाँडामा समाधिस्थल रहेको र निर्माणको क्रममा यी सबै भत्कने उनीहरु बताउँछन् । गाउँघर झैझगडा हुँदा मिलाउने, शिर उठाउने माङगेना यकहरु पनि यही क्षेत्रमा रहेको छ । आयोजनाको ड्याम पनि बन्ने भएकाले यी सबै संरचना भत्कने, पुरीने वा डुब्ने आशंका स्थानीयले गरेका छन् ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र आर्थिक, प्राकृतिक सामाजिक प्राकृतिक पर्यावरण मानव सभ्यतालगायतका हिसावले संरक्षण गर्नुको सट्टा एक पक्षीय हिसावले अगाडि बढाउन खोजिए यो गम्भीर भुल हुने आन्दोलित समूहको दाबी छ ।
फक्ताङलुङ गाउँपालिका लिम्बू जातीको मुन्धुमी, सांस्कृतिक र आध्यात्मिक क्षेत्र भएकोले यस क्षेलाई उक्त समुदायले सभ्यताको केन्द्र र उद्धगम थलोको रुपमा लिएको लिम्बू अगुवाको दाबी छ । मुन्धुमले व्याख्या गरेको र मानव सभ्यतासँग जोडिएको फक्ताङलुङ गाउँपालिकामा कुनै पनि संरचना निर्माण गर्दा लिम्बू समुदाय जानकार हुनुपर्ने उनीहरुको प्रस्ताव छ ।
यही फक्ताङलुङको आसपासबाट बहने इम्बिरी, धाङजामा, ताताम्वा, तमोर खोला मुख्य नदीको रुपमा रहेका छन् । लिम्बू समुदाय प्रकृति पुजक भएकाले आफ्नो मुन्धुम अनुसार पायक पर्ने स्थानमा खोला नदीको पूजा, माङदे, साक्मुरा, गाली सराप बगाउने काम यिनै खोला नदीमा हुँदै आएको छ । बल्छी थाप्ने, ढोक्सा थाप्ने काम पनि कतिपयले गर्दै आएका छन् । मुहान खोल्साको संरक्षण पनि समुदायबाट हुँदै आएको छ ।
यी सबै संरचना र प्राकृतिक सम्पत्ति ध्वस्त हुनेगरी निर्माण कार्य अघि बढाइएकोप्रति समुदाय आन्दोलित भएको उनीहरुले बताएका छन् । पहिचानको मुद्दा उठाएर आन्दोलित मुक्कुमलुङ संघर्ष समितिले पनि यो आन्दोलनमा साथ दिने संकेत गरेको छ । नो केबलकार संघर्ष समितिका एकजना अगुवा राम मादेनले भने, ‘त्यो इम्बिरिहाङ सभ्यतासँग जोडिएको छ । त्यसलाई मास्ने काम भएको पाइएको छ । त्यसलाई हामीले अध्ययन गरिरहेका छौं र हामी त्यसतर्फ केन्द्रित हुनुपर्ने अवस्था देखिएको छ ।’
तमोर इनर्जी आयोजनाका संयोजक सम्झना थापा क्षेत्री बैशाख १७ गते गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सम्बन्धित वडाका वडाध्यक्षसँग छलफल गर्ने तयारी भएको बताउँछिन् । ‘आयोजना नै बन्द भएको छैन । हामीले अवरोध गरेको क्षेत्रको काम रोकेका छौं,’ उनले भनिन्, ‘वडाहरुमा सरोकार समिति पनि बनाएका छौं । उहाँहरुसँग छलफल गछौं तेतीमा पनि नेगोशिएसन भएन भने त्यसपछि सशस्त्र प्रहरी राखेर काम अगाडि बढाउने विषयमा छलफल भइरहेको छ ।’
निर्माण कम्पनीले राजनीतिक दल र जनप्रतिनिधिसँग छलफल गर्ने गरेका छन् । आन्दोलनरत समूहले भने दलको झण्डा बोकेर आएकालाई सभ्यता संस्कृतिको विषय थाह नभएकाले यस्तो अवस्था सृजना भएको बताएका छन् । ‘त्यो भनेको तमोर सभ्यता हो । मुक्कुमलुङ पाथीभरामा प्रश्न उठाएको पनि यहि विषय हो । मुक्कुमलुङमा पनि यसरी नै जनप्रतिनिधि र दलका नेतासँग छलफल गरे संस्कृति अध्ययन गरेनन्,’ राम मादेनले भने, ‘अपर तमोरमा पनि यहि विषय हो । सभ्यता मास्ने खालको रुपमा आएको छ । सरोकारवालासँग नसोधी राजनीतिक व्यक्तिसँग मात्रै जोडिएको छ । अहिले स्वतस्फुर्त रुपमा जनआन्दोलन जस्तो उठेको छ । हामीले पनि यसको अध्ययन गरिरहेका छौं र अब त्यता आफ्नो धारणा सहित केन्द्रित हुन्छौं ।’
पाथीभरा मुक्कुमलुङको विषय पनि जनप्रतिनिधिसँग मात्रै केन्द्रित भएकाले अहिले समस्या भएको उल्लेख गर्दै उनले सभ्यता बुझेकासँग छलफल गर्न कम्पनीलाई आग्रह गरेका छन् ।
