हावाहुरी र आगलागीबाट ताप्लेजुङका ठाउँठाउँमा क्षति, एक जना घाइते

वैशाख १५, २०८२

आनन्द गौतम

Windstorm and fire caused damage to places in Taplejung, one person injured

ताप्लेजुङ — हावाहुरी र आगलागीबाट ताप्लेजुङका विभिन्न ठाउँमा घर गोठ उडाउनुका साथै जलेका छन् । फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका काजीबहादुर लिम्बू घाइते भएका छन् ।

अलैचीमा पानी लगाउने क्रममा एक्कासी चलेको हावाहुरीले लडाएको ढुंगाले उनको टाउकोमा लागेको थियो । उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएका उनको टाउकोमा १२ टाँका लगाउनुपरेको अस्पतालले जनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरको नाबु सामुदायिक वनमा लागेको आगोले अम्बरबहादुर तामाङको घर जलाएको छ । आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

हावाहुरीपछि भएको वर्षाले आगो भने निभाएको स्थानीयले बताएका छन् । हावाहुरीले घर पल्टाउँदा मिक्वाखोला गाउँपालिका–२ वैराखुका बिनोद शेर्पा विस्थापित भएका छन् । हावाहुरीले घरै पल्टाइदिएर ८ फिट पर पुर्‍याएको प्रहरी चौकी खोक्लिङका प्रहरी सहायक निरीक्षक सुरेशकुमार सिंजालीले जानकारी दिए ।

उनीहरु कुमार शेर्पाको घरमा बसेका छन् । पाँच लाख बढीको क्षति भएको अनुमान प्रहरीले गरेको छ । फुङलिङ नगरपालिका–१० फुरुम्बुमा हावाहुरीले मयमका मानबहादुर लिम्बूको घरको छाना उडाएको छ भने धनबहादुर लिम्बूको भान्सा घर र सुरबहादुर खत्रीको गाई गुवालीको छाना उडाएको वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए । 

फुङलिङ नगरपालिका–८ दोखुका जसबहादुर विश्वकर्माको मतानको छाना उडाएको वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिए । आइतबार दिउँसोदेखि चलेको हावाहुरी राति अबेलासम्म चलेको थियो । रातिसम्म विद्युत् सेवामासमेत अवरोध पुर्‍याएको थियो ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully