भोलिदेखि विद्यालय नखोले कारबाही : सिदिङवा गाउँपालिका 

वैशाख १५, २०८२

आनन्द गौतम

If the school does not open from tomorrow, action will be taken: Sidingwa rural municipality

ताप्लेजुङ — सिदिङवा गाउँपालिकाले मंगलबारदेखि अनिवार्य विद्यालय खोल्न निर्देशन दिएको छ । विद्यालय नखोले पालिकाको शिक्षा ऐन २०८० को प्रयोग गरी कारबाही गर्ने चेतावनी पनि दिएको छ । 

गाउँपालिका अध्यक्ष मानबहादुर राईले सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै अझै पनि विद्यालय बन्द रहने अवस्था आए कानुनबमोजिमको अधिकार प्रयोग गरी कारबाहीको चेतावनी दिइएको हो । अध्यक्ष राईले २३ वटा अधिकार स्थानीय तहमा निहित रहेको र गाउँपालिकाको शिक्षा ऐन २०८० मा शिक्षासम्बन्धी विभिन्न व्यवस्था रहेको स्मरण गराउँदै विद्यालय बन्द भइरहे कानुनअनुसारको अधिकार प्रयोग गर्ने उल्लेख गरेका छन् ।

‘शैक्षिक सत्र सुरु भएपछि विद्यालय जान पाउने  र पढ्न पाउने विद्यार्थीको नैसर्गिक अधिकारको सम्मान गर्नुपर्ने शिक्षकको पेसागत जिम्मेवारी समेतलाई आत्मसात गर्दै १६ गतेबाट विद्यालय सञ्चालन गरी बाँकी रहेका सबै शैक्षिक गतिविधि सञ्चालन गर्नु गराउनु हुन शिक्षकलगायत सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछु,’ अध्यक्ष राईले उल्लेख गरेका  छन् ।

शिक्षकहरूको आन्दोलन लम्बिँदै जाँदा विद्यालय बन्द भई सार्वजनिक शिक्षामा थप क्षति पुगेको, विद्यालयप्रति विद्यार्थी र अभिभावकको विश्वास घट्दै जाने र समग्र शैक्षिक सूचकांकमा नकारात्मक असर पर्ने पत्रमा भनिएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully