काठमाडौँ — खाँदबारी नगरपालिकाले वडामै पुगेर तेस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ । शुक्रबार खाँदबारी नगरपालिकाको १० र ११ वडामा भत्ता वितरण गरेको हो ।
वडामा भत्ता वितरण गर्न थालेपछि धेरै सजिलो भएको खाँदबारी नगरपालिका-११ का वडाध्यक्ष अनिल राईले बताए । उनका अनुसार खाँदबारी ११ नम्बर वडामा २ सय ८७ जना सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । खाँदबारी १० वडामा ३ सय ८३ जनालाई भत्ता वितरण गरिएको वडाध्यक्ष वेदबहादुर चौहानले जानकारी दिए ।
वडास्तरमा नै भत्ता पाएपछि जेष्ठ नागरिक र असक्तलाई सजिलो भएको छ । खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाका अनुसार नगरभित्रका दुर्गममा पर्ने वडा २, ४, ५, ६, १० र ११ मा वडामा नै पुगेर भत्ता वितरण हुनेछ ।
