काठमाडौँ — बराहक्षेत्र मन्दिरमा पूजा गर्न जाँदा सप्तकोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।
सोमबार बिहान बराहक्षेत्र नगरपालिकास्थित बराहक्षेत्र मन्दिरमा पारिवारिक रुपमा दर्शन गर्न आएका खोटाङको केपिलासगढी गाउँपालिका बस्ने ४० वर्षीय नवराज बास्तोला र उनका भाञ्जा इटहरी उपमहानगरपालिका १६ बालग्राम बस्ने १६ वर्षीय जेनिस आचार्य पानीमा डुबेर बेपत्ता भएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।
घटनाबारेमा जानकारी पाउनासाथ बेपत्ता भएका मामा र भान्जाका खोजतलासका लागि सुनसरीको इलाका प्रहरी कार्यालय चतरा, प्रहरी चौकी बराह क्षेत्रबाट प्रहरीको टोली, सशस्त्र प्रहरीको १५ जना गोताखोर टोली समेत उनीहरुको खोजीमा खटिएको थियो ।
तर फेला नपरेपछि उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा गोताखोर टोलीसँगै नेपाल प्रहरी गरी अहिले करिब ५० जनाको समूह परिचालन गरी खोजी तीव्र पारिएको प्रहरी प्रमुख एसपी तिम्सिनाले जानकारी दिए । 'खोजी जारी छ । अहिलेसम्म केही पत्ता लागेको छैन,’ उनले भने ।
उनका अनुसार नदीमा दर्शन गर्ने क्रममा भान्जालाई बगाएपछि बचाउन खोज्दा मामा पनि पानीमा डुबेर बेपत्ता भएका हुन् ।
