सप्तकोशीमा दुईजना बेपत्ता भएको घटनामा स्पष्टीकरण पेस गर्न प्रशासनको निर्देशन

सप्तकोशी नदीमा स्नान गर्न भरपर्दो व्यवस्था मिलाउनसमेत बराहक्षेत्र मन्दिर व्यवस्थापन समितिलाई निर्देशन

वैशाख ८, २०८२

अर्जुन सुवेदी

Instructions to the administration to submit an explanation regarding the disappearance of two people in Saptakoshi

सुनसरी — जिल्ला प्रशासन कार्यालय सुनसरीले सप्तकोशी नदीमा स्नान गर्न भरपर्दो व्यवस्था मिलाउन बराहक्षेत्र मन्दिर व्यवस्थापन समितिलाई निर्देशन दिएको छ । दर्शनार्थीका लागि स्नान गर्ने तटीय क्षेत्रमा भरपर्दो व्यवस्थापन गर्न प्रशासनले मन्दिर व्यवस्थापन समितिलाई निर्देशन दिएको हो ।

आज बिहान सप्तकोशी नदीमा नुहाउने क्रममा इटहरीका मामाभान्जा बेपत्ता भएको घटनालगत्तै बराहक्षेत्रस्थित नदीमा पुगेका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले व्यवस्थापन तयारी चित्तबुझ्दो नदेखिएको भन्दै २ दिन भित्रमा लिखित जवाफसहित स्पष्टीकरण पेस गर्नसमेत निर्देशन दिएका छन् ।

इटहरी-१६ बालग्राम घर भएका एकै परिवारका सदस्य मन्दिर दर्शनको लागि बराहक्षेत्र पुगेका थिए । सो क्रममा नुहाउने क्रममा १६ वर्षीय जेनिस आचार्य डुबेका थिए । उनलाई बाचाउन खोज्दा जेनिसका मामा वर्ष ४८ का नवराज बास्तोला समेत कोशी नदीमा डुब्न पुगेको थिए । परिवारका अनुसार नदीले बगाएका मामाभान्जा बेपत्ता भएका छन । बेपत्ताको खोजीमा गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रजिअ मिश्रसहित बराहक्षेत्र मन्दिरको कोशी किनार पुगेको जिल्ला सुरक्षा समितिको टोलीले घटनापश्चात् सुरक्षाकर्मीले जारी राखेको खोज तथा उद्धार कार्यको निरीक्षणसमेत गरेको छ । घटनास्थल पुगेर वस्तुस्थितिबारे जानकारी लिएको सुरक्षा समितिले नदीमा स्थान गर्ने क्रममा अपनाउनुपर्ने सावधानीबारे व्यवस्थापन समितिले पर्याप्त कार्य गरेको नपाइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मिश्रले मन्दिर समितिलाई दुई दिनको समय दिएको बताए । मन्दिर व्यवस्थापन समितिका तर्फबाट चित्त बुझ्दो निर्णय नआएमा जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक निर्णय गर्ने प्रजिअ मिश्रले बताए ।

अर्जुन सुवेदी

Link copied successfully