विद्युत् आयोजनाले खोलामा पानी नछाड्दा जलचर र खेतीयोग्य जमिनमा असर

वैशाख ८, २०८२

डम्बरसिं राई

If the power project does not release water into the river, the impact on aquatic life and agricultural land

खोटाङ — हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट ६.६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले खोलामा पानी नछाडेको भन्दै स्थानीयले गुनासो गरेका छन् । मुहानदेखि पावर हाउससम्म खोला नै सुकाएर पानी फर्काउने गरेकाले जलचर तथा खेतीयोग्य जमिनमा असर परेको स्थानीयले गुनासो गरेका हुन् ।

खोलामा कम्तीमा १० प्रतिशत पानी छाड्नुपर्नेमा खोलै सुकाएर पानी फर्काएपछि खोलाका जलचर सखाप हुनुका साथै खेतीयोग्य जमिनमा समेत असर परेको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका कुमार बुढाथोकीले बताए । उक्त जलविद्युत् आयोजनाको मुहान भएको ठाउँ बसुवादेखि पावर हाउस भएको बेलडाँडासम्म करिब ४ किलोमिटर खोलामा पानी नहुदा जलचर तथा खेतीयोग्य जमिनमा असर परेको बुढाथोकीले सुनाए । यसबारेमा गत वर्ष नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरिएको उनको भनाइ छ । ‘खोलाका चलचर त सखाप भए नै, खेतीयोग्य जमिनमा पनि असर परेको छ ।’

जलविद्युत् आयोजनाका कारण सिँचाइ कुलोको मुहान बिग्रिएपछि रेग्मीटार क्षेत्रको करिब ५० हेक्टर जमिनमा गरिने खेती प्रभावित भएको स्थानीय पुण्यप्रसाद रेग्मीले बताए । रेग्मीटार क्षेत्रमा ५६ घरपरिवारको घर तथा खेतीयोग्य जमिन छ । पानी अभावले बसाइँ सर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । ‘रेग्मीटारको माथिल्लो ठूलो कुलोको मुहानमा पानी चढ्दैन, जलविद्युत् आयोजनाका मान्छेले प्रहरी कार्यालयमा पोहोरै फागुनभित्र कुलोमा पानी चढ्ने गरी बनाइदिन्छौं भनेर कागज गरेका थिए, बनाएनन् । यो वर्ष एक वर्षभित्रमा बनाइदिने भनेर कागज गरेको छ, ’ रेग्मीले भने ।

If the power project does not release water into the river, the impact on aquatic life and agricultural land

गत वर्ष पनि पानी नछाड्नुका साथै जलविद्युत् निर्माण गर्दा बिग्रिएको कुलो नबनाएकाले दिक्तेलस्थित प्रहरी कार्यालयमा छलफल गर्नुपरेको स्थानीय कलमराज रेग्मी बताउँछन् । ‘पोहर पनि पानी छाडेनन्, जलविद्युत् बनाउदा भत्किएको कुलो बनाएनन्, त्यसपछि त्यसको विरोध गर्दा उल्टै प्रहरीमा निवेदन दिएछन्,’ रेग्मीले भने, ‘प्रहरीमा छलफल गर्दा पानी छाड्ने, कुलो बनाउने भनेर लिखित कागज गरेको थियो । अझै कार्यान्वयन भएन ।’ 

उक्त आयोजनाको प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीसम्बद्ध जेनिस लामाले भने १० प्रतिशत पानी खोलैमा छाडिएको दाबी गरेका छन् । करिब एक अर्ब ५० करोडको लागनीमा सम्पन्न उक्त जलविद्युत आयोजनाको विद्युत् २०७८ पुसमा राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully