‘हर्बल हिल्स’ को सुगन्ध

वैशाख ७, २०८२

पर्वत पोर्तेल

The fragrance of 'Herbal Hills'

काँकडभिट्टा — झापा, मेचीनगरका सञ्जय सापकोटा र उनकी श्रीमती मुक्ता सापकोटा पाँच वर्षअघि सोचमग्न भए, घरमै बसीबसी केही उद्यम गर्न सकिएला ? सञ्जयले दुई दशकअघि शिक्षण पेशा छाडेर स्टेशनरी व्यवसाय थालेका थिए । त्यसको अनुभव र मुक्ताको साथले उनीहरुलाई नयाँ बाटो रोज्न प्रेरित गर्‍यो । 

अन्ततः घरेलु उद्योग सुरु गर्ने निर्णय गरे, त्यो पनि खास स्रोत–साधन बिना । उनीहरुसँग थियो त केवल आत्मबल, जोश र सपना मात्रै । करिब २० हजार रुपैयाँ जोहो गरेर सुरुवाती लगानी गरे । २०७७ मा उनीहरूले घरमै ‘हर्बल हिल्स’ नामको हातले बनाइने साबुन उद्योग सुरु गरे । न त ठूलो कारखाना थियो, न अत्याधुनिक मेसिन । तर, उनीहरुसँग थियो आत्मविश्वास ।

पहिलो पटक आफ्नो उत्पादन नजिकै धुलाबारीको एक व्यापार मेलामा प्रदर्शनीमा राखे । साबुनको सुगन्ध, बनावट र नामले ग्राहकको ध्यान खिच्यो । बाटुलो आकार, मगमग बासनाका कारण धेरैले प्रशंसा गरे, कतिले त डिस्ट्रीब्यूटर बन्ने इच्छा पनि देखाए ।

उत्पादनको सुरूवाती वर्षमै कोरोना महामारी खेप्नुपर्‍यो । बजार बन्द, कारोबार ठप्प । ‘साबुन त बजार पुग्यो, तर नगद भुक्तानी पाउन गाह्रो भयो’, सञ्जय अनुभव साँट्छन् । तर, यही संकटले अर्को अवसर पनि दियो । सरकारले सौन्दर्य सामग्रीमा पर्ने साबुनको आयात रोक्दा होटल र होमस्टेहरू विकल्प खोज्न थाले । सञ्जयले पूर्वका धरान, विराटनगर, झापा र इलामका होटलहरूमा उत्पादन चिनाउने मौका पाए । होटलहरूले साबुन मन पराए, नियमित अर्डर दिन थाले । ‘त्यो हाम्रा लागि ठूलो प्रेरणा बन्यो’, मुक्ता भन्छिन् । 

‘हर्बल हिल्स’का उत्पादन प्राकृतिक तत्वबाट बनाइन्छन् । चामल, आलु, दालचिनी, मह, दूध, केसर, चारकोल लगायत सामग्रीको मिश्रणले विभिन्न सुगन्धमा साबुन तयार गरिन्छ । घरमै पाइने यी सामग्रीसँगै काष्टिक सोडा, ग्लिसरिन र नरिवलको तेल भने भारतबाट ल्याइन्छ । साबुनलाई आकर्षक बनाउन खाद्य रंग र फूलहरूबाट निकालिएको तेल मिसाइन्छ ।

सुरूमा १४ प्रकारका फ्लेवरबाट साबुन उत्पादन गरिन्थ्यो । चकलेट, कफी, घिउकुमारीलगायत । हाल मागअनुसार पाँच प्रमुख भेराइटीमा मात्र केन्द्रित गरिएको छ । ‘धेरै फ्लेवरमा उत्पादन गर्दा घाटा पनि व्यहोर्नुपर्‍यो’, सञ्जय भन्छन्,‘त्यो गल्तीबाट सिकेर अघि बढेका छौं ।’

कुनै मेसिन छैन । खाना पकाइसकेपछि खाली भएको भान्सामै साबुन बनाउने काम गरिन्छ । यो कामलाई मुलतः मुक्ताले नै सम्हाल्छिन् । साबुन उत्पादनको सबै प्रक्रिया हातैले गरिन्छ । सानो परिमाणमै भए पनि मासिक ५–६ हजार डल्लासम्म उत्पादन हुन्छ ।

नेपालका होटल तथा होमस्टेहरूमा माग बढ्दो छ । त्यससँगै नजिकैका भारतीय सहर पानीटंकी, नक्सलबारी र मिरिकबाट समेत अर्डर आउन थालेका छन् । ‘भारतका ग्राहकहरू नेपालमै आएर ठूलो परिमाणमा किनेर लैजान्छन्’, सञ्जय भन्छन्, ‘अब विस्तारै भारत निर्यात गर्ने योजना छ ।’

‘हर्बल हिल्स’ सानो सुरुवात हो । तर ठूलो सपना । स्रोत नभए पनि साहसले बाटो खोल्छ भन्ने उदाहरण बनेका छन् सापकोटा दम्पती । उनीहरूको जोश, लगन र प्राकृतिक उत्पादनले देशभित्र मात्र होइन, छिमेकी देशमासमेत सम्भावना देखाउन थालेको स्थानीय होटल व्यवसायी दिपक कार्कीले बताए ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully