बीपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष शर्मा नियुक्त

वैशाख ७, २०८२

एलिना राई

Principal Sharma appointed as Vice-Chancellor on behalf of BP Institute

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा सञ्जीवकुमार शर्मालाई दिइएको छ । गत चैत २६ गतेदेखि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएपछि प्रतिष्ठान उपकुलपतिविहीन भएको थियो ।

वैशाख ४ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको प्रतिष्ठानकी प्रवक्ता डा.अन्जु प्रधानले बताइन् । प्रा.डा. शर्माले आइतबारदेखि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेको प्रवक्ता डा.प्रधानले  बताइन् । 

प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त नहुँदासम्मका लागि शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न साथै प्रतिष्ठानको कामकारबाही गर्न प्रा.डा. शर्मालाई नियुक्ति गरिएको उनले बताइन् ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully