बसाइँ सरेकाहरू गाउँ फर्किने योजना बुन्दै

कुरुलेतेनुपामा ४२ जनाको पुनर्मिलन

वैशाख ७, २०८२

रमेशचन्द्र अधिकारी

Emigrants making plans to return to their villages

(धनकुटा, कुरुलेतेनुपा) — मनभरि गाँठो पार्दै आफ्नै पुरानो बस्ती नियाल्दै थिइन् उनी । बाल्यकालमा खेलेका, साथीसंगीसँग रमाएका अनि घाँस दाउरा, पँधेरो धाउँदाको क्षण सम्झँदै भावुक बनिन् । चौबिसे गाउँपालिका-३ कुरुलेबाट बसाइँ सरेर गएको २४ वर्षपछि गाउँ फर्किएकी मीना काफ्ले दाहाल जन्मथलो पुग्दा आँखासामु चलचित्रजस्तै विगतका दृश्य दौडिरहेको सुनाउँदै थिइन् । 

२०५९ सालमा विराटनगर बसाइँ सरेर गएकी उनी वर्षौंपछि गाउँ फर्किंदा सुरुमा अत्यास लागेको बताउँछिन् । उनको ६० रोपनी जग्गामा विगतमा अन्नपात लगाइन्थ्यो । अहिले झाडी जंगलले साम्राज्य जमाइरहेको छ । उनको जन्मघर र नजिकै रहेको कर्मघरसमेत भग्नावशेषमा सीमित छ । 

‘पुरानो घर भग्नावशेष अवस्थामा देख्दा असाध्यै पीडा भयो,’ उनले भनिन्, ‘बाबुआमा अनि परिवारका माझ हुर्किएको सुन्दर ठाउँ यस्तो होला भन्ने कल्पनासमेत थिएन ।’ गाउँका खेतबारीमा फलफूल लगाएर संरक्षण गर्ने योजनामा रहेको उनले बताइन् । ‘अब नियमित गाउँ फर्किनेछु, मधेश र पहाड दुवै ठाउँ आलोपालो बसोबास गर्ने योजनामा छु,’ उनले भनिन् । 

त्यसो त काफ्ले मात्र होइन, यति बेला वर्षौंपहिले उक्त थातथलो छाडेर बसाइँ सरेर गएका ४२ जना एकैपटक गाउँ फर्किएका छन् । काठमाडौं, भक्तपुर, मोरङ, सुनसरी, धनकुटा लगायतमा सरेर गएका यतिबेला गाउँघरमा फर्किने योजना बुनिरहेका छन् । खानेपानी र बाटोघाटोको सुविधाबाट वञ्चित रहेको अवस्थामा बसाइँसराइ गरेर अन्यत्र गएका अहिले गाउँ फर्कंदा आधारभूत सुविधा पुगिसकेको छ । अनि गाउँ छाड्नुपरेकामा पछुतो छ उनीहरुलाई । Emigrants making plans to return to their villages

यसरी फर्किएकाहरुले चौबिसे-४ को बन्दुकेडाँडामा पुनर्मिलन कार्यक्रम समेत गरेर खुसी साटासाट गरेका छन् । पुनर्मिलन जुटाइदिनेमा स्थानीय जनहित असल शासन क्लब र तमोर पर्माकल्चर संस्था रहेका छन् । 

गाउँघरैमा मोटरबाटो पुगेको छ । बिजुली, खानेपानी र स्वास्थ्य चौकीको पनि व्यवस्थाले विगतको दाँजोमा अतुलनीय भौतिक विकास भइसकेको छ । मूलघाट हुँदै तमोर कोरिडोर तथा भेडेटार–रवि–राँके सडक हुँदै कुरुलेसम्म नियमित यातायात साधन सञ्चालन छन् । 

३० वर्षपहिले भक्तपुरमा बसाइँ सरेका दुर्गामाझी देवान यति बेला गाउँको विकास देखेर चकित छन् । यस अवधिमा १४ वर्षपछि उनी गाउँ पुगेका हुन् । साबिकको कुरुलेतेनुपा-६ र हालको चौबिसे गाउँपालिका-३ सोगुमका देवानको झन्डै ५० रोपनी जग्गा छ । हालसम्म अधिकांश जग्गा अर्कैले कमाइ गर्दै आए पनि त्यसको कुनै आम्दानी आफूले नपाएको सुनाए । ‘अब आफ्नै पहलमा कमाइ गर्नेछु,’ उनले भने, ‘यस वर्षभित्रै गाउँ फर्कने र कृषिकर्म गरेर बस्ने सोचमा छु ।’

चौबिसे-३ काफ्लेडाँडाका नोदनाथ त्रिताल र केशव काफ्ले पनि १२ वर्षपछि गाउँ फर्किएका छन् । बसाइँ सरेर जाँदा सद्दे घर भत्किएर भग्नावशेष अवस्थामा छ । उनीहरूको झन्डै ५० रोपनी जग्गा बाँझै छ । झाडी र जंगल रहेका कारण उब्जाउ जमिनसमेत संरक्षण गर्न नसकिने अवस्थामा छ । खानेपानीको चरम समस्याका कारण बसाइँ गरेर जानु परेको त्रिताल बताउँछन् । Emigrants making plans to return to their villages

चरम बसाइँसराइबारे सञ्चारमाध्यमबाट समाचार सुन्दा गाउँ फर्किने हुटहुटी जगाएकाले सबैलाई भेला गरेर पुनर्मिलन गराएको अभियन्ता तमोर पर्माकल्चरका भोजकुमार काफ्लेले बताए । डेढ दशकयता बसाइँसराइको लहरले अधिकांश बस्ती शून्य बन्दै गएको स्थानीय खानेपानी आयोजनाका संयोजक गोपीकृष्ण भण्डारीले बताए । ‘खानेपानीको चरम समस्या र सेवासुविधाबाट टाढिँदै गएपछि बसाइँसराइ बाढीझैं उर्लियो’, भण्डारीले भने, ‘यसलाई रोक्न थालिएका योजनाले मूर्तरुप लिएपछि बाहिर गएकाको ध्यान तानिँदै छ ।’ 

बसाइँसराइपछि खाली रहेका जग्गालाई सदुपयोग गर्न जरुरी रहेको परराष्ट्रविद्‌समेत रहेका स्थानीय अरुण सुवेदी बताउँछन् । उनीसमेत पुनर्मिलनका क्रममा काठमाडौंबाट कुरुलेतेनुपा पुगेका छन् । बाँझो जमिनमा आरु, बखडा, नासपाती लगायतका फलफूल खेती गर्ने योजनाबद्ध कार्यक्रम अघि सार्नुपर्ने उनको भनाइ छ । फलफूल प्रशोधन गरेर वाइन लगायतको उद्योग स्थापना गर्न आफूहरु जुट्ने उनले बताए ।

चौबिसे-३ र ४ वडामा समेटिएको कुरुलेतेनुपामा हालसम्म तीन सय परिवार विस्थापित भइसकेको गाउँपालिका स्रोतको भनाइ छ । बाजथला क्षेत्र पनि खाली बन्दै गएको छ । अँधेरी गाउँका अधिकांश घर रित्ता छन् । अन्य प्रभावित गाउँमा पनि ९० प्रतिशत बस्ती शून्य रहेको छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully