ताप्लेजुङ लेलेपमा ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

वैशाख ६, २०८२

आनन्द गौतम

One person died when a tractor overturned in Taplejung Lelep

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका-६ लेलेप चाँगामा शनिबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । स्थानीय सोनाम शेर्पाका अनुसार इलाडाँडा घर भएका २८ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमै मृत्यु भएको हो । भुछिरिङ महोत्सव हेर्न लेलेप हिँडेका थिए ।

गोलिया काठ बोकेर लेलेप जाँदै गरेको ट्र्याक्टरमा चढेका उनको त्यही ट्र्याक्टरले किचेर मृत्यु भएको गाउँपालिका उपाध्यक्ष विकास साम्राले जानकारी दिए । यहाँको गोलिया ट्र्याक्टरहरुले लेलेप ओसरी रहेका छन् । 

एकाघरका काका भतिज एउटै ट्र्याक्टरमा चढेर महोत्सव हेर्न हिँडेका थिए । इलाडाँडाबाट केही तल पुगेपछि काकाले ट्र्याक्टर फेरेर अर्कोमा चढे । त्यही ट्र्याक्टर पल्टिएको सोनामले बताए । ट्र्याक्टर लोकमार्गबाट पल्टिएर एक डिल तल कृषि सडकमा पुगेको छ । चालक भने निस्किएको स्थानीयले बताएका छन् । लेलेप प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । मृतकका एक श्रीमती र दुई छोरा छन् । यही पालिका ५ तापेथोकमा चार दिनअघिमात्रै ट्याक्सी पल्टिँदा पाँचथरको फिदिम घर भएका चाललको मृत्यु भएको थियो । 

सहचालकको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सी महोत्सवको सामान पुर्‍याएर फर्किएको थियो ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully