पदयात्रामा रमाउनेका लागि उदयपुरमा ‘ढाक्रे ट्रेल’ सुरु

वैशाख ६, २०८२

राकेश नेपाली

'Dhakre Trail' started in Udaipur for hiking enthusiasts

उदयपुर — पर्यटन प्रवर्द्धनका लागि उदयपुरमा ‘ढाक्रे ट्रेल’ पदमार्ग सञ्चालनमा ल्याइएको छ । उदयपुरगढी गाउँपालिका–८, बाघखोरबाट लिम्चुङबुङ हुँदै हलेसी पुग्न सकिने गरी नयाँ पदमार्गको शनिबार उद्घाटन गरिएको हो ।

‘बाघखोर–लिम्चुबुङ–हलेसी’ पदमार्गलाई स्थापित गर्ने गरी औपचारिक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले पदयात्रीलाई बिदा गरेका थिए । दुई दशकअघिसम्म सदरमुकाम गाईघाटबाट ढाकरमा नुन, तेल, चामल लगायतका सामान बोकेर गाउँ पुर्‍याउने बाटोलाई पुनः स्थापित गराउन ‘ढाक्रे ट्रेल’ नाम राखेर पदयात्रा सुरु गरिएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए ।

‘हाम्रा बाउ/बाजेले सदरमुकामबाट नुन बोकेर गाउँ लैजाने बाटो अहिले सडक संजालको विस्तारले लोप भइसके,’ उनले भने, ‘पुर्खाको पसिना बगेको बाटो नयाँ पुस्ताले चिन्नुपर्छ भनेर ‘ढाक्रे ट्रेल’ नाम राखेका हौं ।’ 'Dhakre Trail' started in Udaipur for hiking enthusiasts

गाउँको स्थानीय परिकारको स्वाद लिँदै, गाउँले परिवेश, रहनसहन, संस्कृति र परम्परालाई नजिकबाट बुझ्न र पदयात्रालाई रुचिको विषय बनाउन नयाँ पदमार्ग सुरु गरिएको प्रजिअ लुईंटेलले बताए । ‘गाउँलाई चिन्न/बुझ्न गाउँ नै जानुपर्छ,’ उनले भने, ‘यो पदमार्गले सहर र गाउँबीचको टाढिँदै गएको सम्बन्धलाई नजिक बनाउन मद्धत गर्नेछ ।’ 

स्वास्थ्यका लागि समेत पदयात्रा लाभदायी रहेको भन्दै उनले आमनागरिकलाई समेत पदयात्रामा सरिक हुन अनुरोध गरे । 'Dhakre Trail' started in Udaipur for hiking enthusiasts

शनिबारबाट सुरु भएको ६० किलोमिटर लामो पदयात्रामा पशुपतिप्रसाद गणका गणपति शिवप्रसाद वाग्ले, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक हरिहरनाथ योगी, राष्ट्रिय अनुसन्धान प्रमुख कुमार बुढाथोकी, लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई, उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्का, स्थानीय व्यापारी, होटल तथा पर्यटन व्यवसायीलगायत सर्वसाधरण समेत सहभागी छन् । 

नेपाली सेनाको पशुपतिप्रसाद गणले सञ्चालनमा ल्याएको पदमार्गलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले प्राविधिक सहयोग गरेका छन् । उक्त पदमार्गमा यसअघि उदयपुरका प्रदेशसभा सदस्य नारायण बुर्जामगर, पशुपतिप्रसाद गणका गणपति शिवप्रसाद वाग्ले, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर राईसहितको टोलीले प्रारम्भिक यात्रा सम्पन्न गरेको थियो ।'Dhakre Trail' started in Udaipur for hiking enthusiasts

पदमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका– ८, ४ र ३, रौतामाई गाउँपालिका–१, लिम्चुङबुङ गाउँपालिकाका पाँचवटै वडा र छिमेकी जिल्ला खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ र ७ लाई छुनेछ । 

पदयात्रीले उदयपुरगढी गाउँपालिकाको बाघखोरदेखि रौतामाई गाउँपालिकाको माझखर्क, लिम्चुङबुङको एभरेस्ट भ्युटप हुँदै सुनकोसी नदी तरेपछि छिमेकी जिल्ला खोटाङको धार्मिक स्थल हलेसी पुगेर चार दिनको पदयात्रा सम्पन्न गर्ने पशुपतिप्रसाद गणका गणपति शिवप्रसाद वाग्लेले बताए । 

पदमार्ग सञ्चालनसँगै जिल्लाको ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । पदयात्रीले समुद्री सतहदेखि २ सय ९० मिटरको उचाइमा रहेको सुनकोसी नदीदेखि २ हजार २ सय १० मिटर उचाइको लिम्चुङबुङ एभरेस्ट भ्युटपसम्मको भौगोलिक तथा जैविक विविधतामा रमाउन पाउने छन् ।'Dhakre Trail' started in Udaipur for hiking enthusiasts

उदयपुरको पर्यापर्यटनको विकास, स्थानीय होमस्टेको प्रवर्द्धन, स्थानीय संस्कृतिको प्रवर्द्धनमा पदमार्गले टेवा पुर्‍याउने विश्वास लिइएको उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्काले बताए । पदमार्ग सञ्चालन गर्नका लागि यसअघि जिल्लाका सरोकारवालाबीचमा समन्वयात्मक बैठकसमेत आयोजना गरिएको थियो ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully