खोटाङ — केपिलासगढी गाउँपालिका–१ फेदीस्थित चिलिम लाहुरे सामुदायिक वनमा रेडपान्डा फेला परेको छ। स्थानीय मनोज राईले वैशाख २ गते लोपोन्मुख रेडपान्डा फेला पारेर फोटो खिचेका छन्।
फेदी रेडपान्डाको ‘हब’ मानिन्छ। उक्त वडाको फुङ्गालुवा, छिमालुङ, वैशाखे वालिखा, चिलिम लाहुरे लगायतका सामुदायिक वनमा रेडपान्डा पाइन्छ।
उक्त क्षेत्रमा रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा जनकल्याण समाज नेपाल, खोटाङले समुदायमा आधारित रेडपान्डा संरक्षण परियोजना सञ्चालन गरेको छ।
रेडपान्डा प्रशस्त पाइए पनि संख्या भने गणना भइनसकेको जनकल्याण समाज नेपाल, खोटाङका अध्यक्ष विरेन्द्र मगरले बताए।
‘फेदी रेडपान्डाको हव नै हो,’ मगरले भने, ‘रेडपान्डाको संख्या धेरै नै भए पनि गणना चाहिँ भएको छैन।’
उक्त सामुदायिक वनहरूमा रेडपान्डाको संरक्षणका लागि ब्लक बनाइएको छ। परियोजनाले ती वनहरूमा हेरालु समेत राखेको छ।
