विराटनगर — एमाले विराटनगर महानगर कमिटीमा पनि विनोद ढकाल समूहको प्यानल नै विजयी भएको छ ।
यसअघि जिल्ला अधिवेशनमा पनि ढकाल पक्षधर उम्मेदवार अजम्बर राई नेतृत्वको प्यानलले नै जितेको थियो । शुक्रबार बिहान सम्पन्न दोस्रो महानगर अधिवेशनबाट बलराम गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । यो नतिजाले महानगर र जिल्ला दुवैतिर ढकाल समूहको प्रभाव बलियो बन्दै गएको देखिन्छ ।
निकटतम प्रतिस्पर्धी संस्थापन समूहका रोहित कोइरालालाई ५२ मतले हराएका हुन् ।
पाञ्चालीस्थित पार्टी कार्यालयमा शुक्रबार बिहान सम्पन्न अन्तिम मतगणना अनुसार गिरीले १ सय ७३ मत प्राप्त गर्दा कोइरालाले १ सय २१ मत मात्रै पाएका थिए ।
उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने (सुरज), सचिवमा विज्ञान शर्मा चापागाईं तथा उपसचिवमा हमिद आजाद र हिमा मैनाली विजयी भएका छन् ।
दोस्रो अधिवेशन वैशाख २ गते सुरु भएको थियो । बुधबार निर्वाचन हुने भनिए पनि विवादका कारण बन्द सत्र स्थगित गरिएको थियो । अन्ततः बिहीबार राति सम्पन्न मतदानमा ३ सय १४ प्रतिनिधिमध्ये ३ सय ८ जनाले मतदान गरेका थिए ।
