थुनामा रहेका चार भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको आदेश

वैशाख ४, २०८२

पर्वत पोर्तेल

The Supreme Court orders not to immediately deport the four Bhutanese refugees who are in detention

विराटनगर — अमेरिकाबाट डिपोर्ट भई भुटानबाट पुनः लखेटिएर नेपाल प्रवेश गरेका चार भुटानी शरणार्थीलाई ‘तत्काल देश निकाला नगर्न’ बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनीहरूलाई वैशाख ११ गते अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ । थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीको तर्फबाट नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उनीहरूलाई तत्काल निष्कासन नगर्न भनेको हो । चारै जना नेपाली मूलका भुटानी नागरिक हुन् । जो दशकौंअघि नेपालमा शरणार्थीको रूपमा बस्दै आएका थिए । पछि संयुक्त राष्ट्रसंघीय पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुनर्वास गरिएका उनीहरूलाई अमेरिका सरकारले गएको चैत ११ गते डिपोर्ट गरेको थियो । उनीहरुलाई आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा डिपोर्ट गरिएको हो । 

डिपोर्टपछि उनीहरू भारतको दिल्ली हुँदै भुटान पुगेका थिए । तर भुटान सरकारले उनीहरूलाई अस्वीकार मात्रै गरेन देश निकाला नै गरेको थियो । उनीहरु चैत १३ गते राति अवैध रुपमा नेपाल प्रवेश गरेका थिए । चैत १४ मा दमकको बेलडाँगी शरणार्थी शिविरबाट तीन जना र त्यसको २ दिन पछि अर्का शरणार्थी अशोक गुरुङ बाहुनडाँगीबाट पक्राउ परेका थिए । प्रहरी हिरासतमा राखेर अध्यागमन विभागले अनुसन्धान गरिरहेका उनीहरुलाई देश निकाला गर्नु पर्ने आशयको प्रतिवेदन दुई दिनअघि सरकारलाई बुझाइएको थियो ।  

यसैबीचमा रिट निवेदकले उनीहरूलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै सर्वोच्च अदालतको सरोकार मागिएको हो । अमेरिकाले आपराधिक गतिविधिमा संलग्न भन्दै ६३ जना भुटानी शरणार्थीलाई डिपोर्ट गर्ने सूची बनाएको थियो । तीमध्ये १३ जना र थप ५ गरी अहिलेसम्म १८ जना शरणार्थी भुटान सरकारलाई बुझाइसकेको छ । ४ जना शरणार्थी नेपालमा पक्राउ परेका छन् । बाँकी १४ जनाको अत्तोपत्तो छैन । उनीहरुको जीउधनको सुरक्षाका लागि अधिकारकर्मीहरुले माग गर्दै आएका छन् । 

अधिकारकर्मी दिल भुटानीले भने,‘उनीहरु जहाँ जुन अवस्था भए पनि ज्यानको सुरक्षाका लागि माग गर्दछौं ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully