सीमान्तकृत आठपहरिया जातिको बिसु पर्व सुरु

वैशाख ४, २०८२

रमेशचन्द्र अधिकारी

Bisu festival of the marginalized Athapaharia caste begins

धनकुटा — मुलकभरमै धनकुटामा मुख्य बसोबास रहेको सीमान्तकृत आठपहरिया जातिको बिसु अर्थात् बैशाखे चाड सुरु भएको छ । 

सुखशान्ति, उन्नति र मेलमिलापको कामना गर्दै एकआपसमा शुभकामना साँटासाँट गर्दै पर्व आठ दिनसम्म मनाउने गरिन्छ । 

उक्त जातिको विभिन्न चाडमध्ये बिसु पहिलो चाडको रुपमा विशेष धुमधामले मनाइने चलन रहेको किरात आठपहरिया समाजका केन्द्रीय महासचिव कोमल आठपहरियाले जानकारी दिए ।

चाडको पहिलो दिन भूमि पूजा र दोस्रो दिन मार्गा लगायतका देवालयमा सरसफाइ तथा तेस्रो दिन कुखुरा तथा सुँगुर बली दिने चलन रहेको उनले बताए । 

चौथो दिन राँगा, सुँगुरको भोज र पाँचौं दिन पितृ पूजा गरिन्छ । छैटौं दिनमा संयुक्त रुपमा वनभोज गरी रमाइलो पूर्वक चाड मनाइने गरिन्छ । 

सातौं दिन भने ताराआप्मा अर्थात् धनुषवाण प्रतिस्पर्धा गरिने चलन छ । यस अन्तर्गत बिहीबारे हटियास्थलमा रहेको मार्गाथान नजिक धनुषवाणबाट तारो हान्ने प्रतियोगिता गरिने चलन रहेको केन्द्रीय महासचिव आठपहरियाले बताए । 

आठौं अर्थात् अन्तिम दिन वर्षभरी अन्नपात र बालीनाली सप्रियोस् भन्ने कामना गर्दै मार्गाथानमा विशेष पूजा गरी पर्वको समापन गरिन्छ । 

उक्त जातिले बैशाखे चाडपछि भदौरे र मंसिरे न्वागी चाडसमेत विशेष रुपमा मनाउने गर्दछन् । आफ्नै मौलिक पोशाकको रुपमा पुरुषले इष्टकोट, दौरा सुरुवाल र महिलाले म्याख्ली र सिन तथा हारि पहिरिने गर्दछन् । उक्त जातिको जनसंख्या करिब ६ हजार रहेको छ ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully